Wednesday, 20, January, 2021 info@saipalnews.com

अध्यक्ष र उपाध्यक्षले विवाह

पोखरा २६ मंसिर । कुनै कार्यक्रममा भेट्दा होस् कि पारिवारिक जमघटमा होस्, कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई लगातार पछ्याइरहेको प्रश्न हो, ‘विवाह गर्ने होइन र ? कर्ण मुसुस्क हाँस्थे र भन्ने ‘गरम्ला नि एक दिन । त्यस्तै प्रश्नको सामना गरिरहनुपर्थ्यो, मुस्ताङ घरपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले पनि । अब त ढिला भएन र भनेर प्रश्न गर्दा शर्मिला भन्थिन्, ‘मन मिल्ने पाए गरौंला, नत्र यतिकै ठिकै छ नि ।

‘जनताको काम होस् वा कुनै समारोह । कुनै नेता, कार्यकर्ता होस् वा आफन्त विवाहको कुरा त आइहाल्थ्यो,’ घरपझोङकी उपाध्यक्ष शर्मिला भन्छिन्, ‘हाम्रोजस्तो समाजमा यस्तो प्रश्न अझै आइरहने रहेछ ।

मान्छेहरु विवाह नगर्नुको कारण खोजिरहन्थे । अब भने माछापुच्छ्रेका अध्यक्ष कर्ण र शर्मिलाले यस्तो प्रश्नको सामना गर्नु नपर्ने भएको छ । यतिबेला उनीहरुलाई प्रश्न होइन, बधाई र शुभकामना आइरहेको छ । शर्मिलाले भने झैं दुवैले मन मिल्ने पाएपछि शुक्रबार विवाह बन्धनमा बाँधिएका छन् ।

४७ वर्षीय कर्ण र ४६ वर्षीया शर्मिलाले गुरुङ परम्परागत खिमी बसाली पोखराको गुम्बामा लगन गाँठो कसेका हुन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपाका नेता, जनप्रतिनिधि र आफन्तको उपस्थितिमा हेम्जा तिब्बतियन क्याम्पको गुम्बामा विवाह भएको हो ।

एकअर्कालाई चिन्नेबुझ्ने अवसर मिलेपछि पारिवारिक सल्लाहमै विवाह गरिएको उपाध्यक्ष शर्मिलाले जानकारी दिइन् । ‘लभसब परेको चाहिँ होइन है १ एक अर्कालाई हामी नजिकबाट चिन्थ्यौं,’ शर्मिलाले भनिन्, ‘दुवैजना जनप्रतिनिधि भएपछि झनै कार्यक्रमहरुमा भेट हुने र बुझ्ने अवसर मिल्यो ।

४६ सालदेखि राजनीतिमा होमिएका उनीहरुले पार्टीकै नेता कार्यकर्तालाई साँक्षी राखेर विवाह गरे । गाउँपालिका अध्यक्ष कर्णबहादुरले पारिवार, नेता, कार्यकर्ताको सुझाव र सल्लाहअनुसार विवाह गरिएको बताए । ‘हामी सामाजिक कामकै सिलसिलामा चिनिएका हौं । हाम्रो पाटीदेखि कार्यक्षमता र दृष्टिकोण पनि मिल्छ,’ गुरुङले भने, ‘जनप्रतिनिधिको जिम्मेवारीमा छौं, मिलेर काम गर्छौं ।