Wednesday, 20, January, 2021 info@saipalnews.com

भित्र बसेर सोच्‍नुहोस्, श्रीमान् ! अदालत सधैँ रहिरहन्छ, हामी त आउँछौं-जान्छौं

काठमाडौँ २२ पुस । संघीय संसदको प्रतिनिधिसभा विघटन गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिविरुद्ध परेका दर्जनभन्दा बढी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि नियमित सुनुवाइ तय भएको थियो ।

संवैधानिक इजलासको पुस १० गतेको आदेशबमोजिम बुधबार ११ बजेपछि सुनुवाइ सुरु भयो । निवेदकका कानुन व्यवयासीहरूको संसद विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग अस्वीकार गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले नै बहस अगाडि बढाएको थियो ।

बहसको सुरुवातमै निवेदकमध्येका नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङका तर्फबाट बसहमा आएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बृहत् पूर्ण इजलासको माग राखे । प्रधानन्यायाधीशले उक्त माग अस्वीकार गरेका थिए ।

त्यसपछि प्रतिवादी प्रधानमन्त्री ओलीले पठाएको जवाफ इजलासले सुन्न चाह्यो र लामो जवाफ वाचन सुरु भयो । लामो बयान वाचन गरेपछि चिया समय भयो । झन्डै एक घण्टा लामो चिया ब्रेकुपछि बहस सुरु भयो । तर, त्यो बहस निवेदनमाथि नभई इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीबारे थियो ।

कानुन व्यवसायीहरूले ओलीको पहिलो प्रधानमन्त्रित्व कार्यकालमा कार्की महान्यायाधिवक्ता रहेको र अहिलेका महान्यायाधिवक्ता अग्नि खरेल, जो प्रधानमन्त्रीको संसद विघटनको कदमको बचाउमा उत्रिएका थिए, सँग एउटै ल फर्ममा काम गरेकोकाले स्वार्थ बाझिएको विषयमा उनी बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा केन्द्रित भयो ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले बृहत् पूर्ण इजलासको माग गरेको भए पनि अहिले गठन भएको संवैधानिक इजलासमा बहस गर्न कुनै अप्ठ्यारो नमान्ने भन्दै कार्कीको विगत कोट्याए । उनले विगतमा न्यायाधीश कार्की प्रधानमन्त्री ओलीको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रहिसकेकाले जनताले प्रश्न उठाइरहेको बताए ।

मलाई बहस गर्न र फैसला स्वीकार्न आपत्ति छैन । तर पब्लिकले के भन्छन् ? तपाईंको न्याय निरुपण गर्ने क्षमतामा कुनै शंका छैन । जसरी मुद्दा आइराखेको छ, जसरी पार्टीका मान्छे विभाजित भइरहेका छन् उनीहरूले प्रश्न गरिरहेका छन् । हिजो के हुनुहुन्थ्यो वा हुनुहुन्थेन भन्ने कुरा भएन तर आज तपाईं न्यायाधीश हुनुहुन्छ, थापाले भने ।

सार्वजनिक रूपमा संवैधानिक इजलासमा न्यायाधीश कार्कीको संलग्नतालाई लिएर बाहिर उठेका प्रश्नले स्वयम् कार्कीको अन्तर्मनमा के लागेको छ रु भनेर थापाले प्रश्न गरे । म छोड्नुस् पनि भन्दिनँ, बस्नुस् पनि भन्दिनँ । तपाईंलाई के लाग्छ त्यो गर्नुहोस् । तपाईंको महानता त्यसमा देखिन्छ, थापाको सुझाव थियो ।

अहिलेका महान्यायाधीवक्ता खरेल र न्यायाधीश कार्कीले विगतमा एउटै ल फर्ममा काम गरेको भन्दै थापाले अहिले एकजना संसद् विघटन सही भनेर प्रतिवादी ओलीको तर्फबाट बहसमा सामेल हुने र अर्को न्यायाधीशका रूपमा इजलासमा हुनु कत्तिको सही हो भनेर बाहिर प्रश्न उठ्ने थापाको तर्क थियो । विगतमा झगडियासँग न्यायाधीशको स्वार्थ बाझियो भनेर प्रश्न उठेको खण्डमा जवाफ आउने गरेको उनले स्मरण गराएका थिए ।

प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गर्ने क्रममा रोलक्रम मिचेको र कार्की रोलक्रमअनुसार नआएकाले पनि छोड्न कुनै गाह्रो नहुने उनको भनाइ थियो । वरिष्ठताको आधारमा संवैधानिक इजलासमा परेको भए शंका गर्ने ठाउँ हुन्थेन भन्ने थापाले बताए ।साभार कान्तिपुरबाट