Wednesday, 20, January, 2021 info@saipalnews.com

संविधानमा नभएको व्याख्या सर्वोच्च अदालतले गर्दैन : अध्यक्ष दाहाल

काठमाडौं २८ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको छ । पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्दै उहाँले अदालतले संविधानको सही व्याख्या गर्ने र  पुनःस्थापना हुन्छ भन्नेमा आफूहरु विश्वस्त रहेकाले कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री  दाहालले भन्नुभयो, “सर्वोच्च अदालतले संविधानको अक्षर, भावना र मर्मको व्याख्या गर्ने हो, आफूखुशी संशोधन गर्ने होइन । संविधानमा हुँदै नभएको व्याख्या गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन, तपाईँहरु ढुक्क हुनुहोला, प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ ।

अध्यक्ष दाहालले संविधानविद्, पूर्वन्यायाधीश र धेरै मानिससँगको अन्तक्र्रियाबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास रहेको बताउँदै उहाँले संविधान र लोकतन्त्र अप्ठ्यारो परेको बेला राष्ट्रका जिम्मेवार नागरिकले यसबारेमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

“माथिदेखि तलसम्म सबै पार्टी सङ्गठन विघटनको घोषणा गरेका छौँ, राजनीतिक प्रतिवेदन र विधान नयाँ बनाएका छौँ र  त्यहीअनुसार परिचालित छौँ । अब पुनः पछाडि फर्काउने षड्यन्त्र परास्त गरी छाड्छौँ”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले संवैधानिक अङ्गले कानूनबमोजिम पार्टी आधिकारिकताको विवाद निरुपण गर्ने विश्वास गर्नुभयो ।   आफूहरुले बहुमत केन्द्रीय सदस्यको प्रतिनिधित्व गरेको जिकिर गर्दै उहाँले नेकपा र चुनाव चिह्न सूर्य पनि आफूहरुले पाउनुपर्ने दाबी निर्वाचन आयोगसमक्ष गरिएको बताउनुभयो ।

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले बाटो बिराएर गएकालाई गल्ती स्वीकार गरेर पार्टीमा फर्कन आग्रह गर्दै पार्टीलाई एकीकृत र गतिशील बनाउन आफूूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विधि, विधान र अनुशासनको पालना नगर्दा मात्र पार्टी कमजोर हुन्छ, अन्तरसङ्घर्षले पार्टी कमजोर हुँदैन । गुटवादी, व्यक्तिवादी र अहङ्कार त्यागौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।