Tuesday, 02, March, 2021 info@saipalnews.com

पुरातत्वको पत्र विपरीत मध्यराति कमलपोखरीमा डोजर

काठमाडौं ६ माघ । ऐतिहासिक कमलपोखरीमा भइरहेको काम रोक्न पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको राति डोजर लगाएर माटो ओसार्ने प्रयास भएको छ । कमलपोखरी निर्माणमा मौलिक सामग्री प्रयोग नगरी ऐतिहासिक एवं पुरातात्विक महत्व नाश हुने गरी काम गर्न लागेको देखिएकाले काम रोक्न महानगरपालिकालाई पत्राचार गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो ।

पत्राचार गरिएकै राति ११ बजे कमलपोखरीबाट माटो निकालेर अन्यत्र ओसारेको विषयमा पनि विभागमा जानकारी आएको उहाँले सुनाउनुभयो । सोमबार राति डोजर लगाएर एक गाडी माटो बूढानीलकण्ठ लगिएको अभियानकर्मीले जनाएका छन् । अभियाकर्मीको विरोधपछि राति माटो झिक्ने काम रोकिएको छ ।

सोमबार राति ११ बजे डोजर लगाएर माटो ओसारेको खबर पाएपछि सम्पदाप्रेमीको समूह कमलपोखरी पुगेको थियो । राति कमलपोखरी गएर महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रहरी प्रशासनसँग फोनमा कुरा गरी डोजर लगाउन रोकिएको सम्पदा बचाऊ अभियानकर्मी गणपतिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

कमलपोखरीलाई पनि रानीपोखरीकै बाटोमा लैजान खोजेको भन्दै सम्पदाप्रेमीले आज बागदरबारस्थित महानगर कार्यपालिकाको कार्यालयमा धर्ना दिएका छन् । धर्नामा बसेका सम्पदाप्रेमीले ‘प्रकृतिको दोहन बन्द गर’, ‘सिमेन्ट र डण्डीको कमल चाहिँदैन’, ‘रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौँ’, ‘जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ, यसलाई बचाऔँ’, ‘प्रकृतिको दोहन बन्द गर, दुर्लभ सिमसारको संरक्षण गर’ लगायत नारा लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य, महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महानगर प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई नभेटेपछि पत्र दर्ता गरेर छोडिएको छ । पत्र बुझ्नुहुँदै महानगर उपप्रमुख श्रेष्ठले बजेट निर्माण गर्दा पुरानै स्वरुपमा काम गर्ने गरी राखिएको बताउनुभयो । त्यसपछिको चरणमा के के भयो भन्ने आफूलाई जानकारी नभएकाले विवाद आएपछि खोजी शुरु गरिएको उहाँको भनाइ थियो ।