Friday, 05, March, 2021 info@saipalnews.com

तस्करलाई वनमन्त्री बनाउँदा रूखहरू डराएका छन् : डा रावल

bhim rawal

काठमाडौं १० माघ । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले पार्टी फुटाउन प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिममा मन्त्री पद बाँडेको आरोप लगाएका छन् । कैलाली क्षेत्र नम्बर ५ का कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै रावलले सुदूरपश्चिमलाई माया गरेर नभई पार्टी फुटाउन सुदूरपश्चिमबाट चार–चारजनालाई मन्त्री बनाएको बताए ।

जुन वेला डडेल्धुरा र टीकापुरका दुई सिटबाहेक सारा जितेर पठायौँ, त्यसवेला उहाँलाई सुदूरपश्चिमको सम्झना भएन,’ प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जसमेत रहेका रावलले भने, ‘अहिले पार्टी फुटाउन मन्त्री पदलाई दुरुपयोग गरेर हतियार बनाइएको हो । मन्त्री दिने भए त सुरुमै दिनुपथ्र्यो ।

सुदूरपश्चिमका १६ मध्ये १४ वटा निर्वाचन क्षेत्रबाट जितेर पठाउँदा पनि निर्वाचनपछि सरकार गठन गर्दा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै रावलले त्यसवेला असन्तुष्टि जनाएका थिए । प्रतिनिधिसभा विघटनपछि पुनर्गठन गरिएको मन्त्रिमण्डलमा भने सुदूरपश्चिमबाट तीनजना मन्त्री परेका छन् ।

प्रतिनिधिसभा विघटनलगत्तै प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट वन तथा वातावरणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरेका थिए । ओली समूहमा लागेका लेखराज भट्ट यसअघि नै मन्त्री थिए । नेता रावलले प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा कुनै पनि ठूला योजना नल्याउनुले पनि सुदूरपश्चिम प्रदेशप्रति उनको दृष्टिकोण प्रस्ट हुने धारणा राखे ।

रावलले वनमन्त्री आले काठतस्कर भएको आरोप पनि लगाए । तस्कर नै मन्त्री भएपछि रूखहरू डराएका भन्दै रावलले व्यंग्य गरे । ‘अहिले शुक्लाफाँटादेखि लालझाडीसम्मका सबै रूख डरले थर्कमान छन् । किनभने वनतस्कर नै वनमन्त्री छन्,’ उनले भने ।

काठतस्करको मुद्दा लागेर धरौटीमा छुटेकालाई वनमन्त्री बनाउनु लाजमर्दो भएको उनको भनाइ थियो । ‘केपी ओलीले यहाँ भाषण गर्नुभो– मैले वनमन्त्री बनाएपछि तस्करहरू डरले थुरथुर भएका छन् भनेर,’ रावलले व्यंग्य गर्दै भने, ‘तस्करहरू होइन, वनस्पति, रूख र जनावरहरू थुरथुर छन् । ओलीले विधि, विधान, पद्धति नमान्दा नेकपा फुटेको रावलले बताए । बहुमत केन्द्रीय सदस्य आफ्नो समूहमा रहेकाले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूहरूले नै पाउने उनले दाबी गरे ।