Tuesday, 02, March, 2021 info@saipalnews.com

कोरोनापछि पर्यटकीय क्षेत्र पुग्न थाले आन्तरिक पर्यटक

काठमाडौं १२ माघ । कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो । पर्यटकीय क्षेत्र उठ्न धेरै समय लाग्ने र लामो सङ्घर्ष गर्नुपर्ने चर्चा चल्योे । यसको विपरीत बन्दाबन्दीपछि स्थानीय पर्यटकको चहलपहल अत्यन्तै बढ्यो । स्थापित पर्यटकीय क्षेत्रमा मात्र नभई नयाँ क्षेत्रमा समेत पर्यटक ह्वात्तै बढे ।

चार महिना घरमै थुनिएका मानिसलाई बन्दाबन्दीपछि घुम्ने क्षेत्र आवश्यक पर्यो । त्यसैले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थाल्यो । घर वरपरका सामान्य चर्चा हुने पर्यटकीय क्षेत्रमा पर्यटक रम्न पुगे । जिल्लाका सन्दकपुर, श्रीअन्तु, माईपोखरीलगायतका क्षेत्रमा त भीड नै लाग्यो तर गुमनाम पर्यटकीय क्षेत्रमा चहलपहल बढेपछि पर्यटनकर्मी र स्थानीय तह भौतिक निर्माण र व्यवस्थापनमा जुटेका छन् ।

हुन त पछिल्लो समय केही पर्यटकीयस्थल चलचित्र र म्युजिक भिडियोको सुटिङ क्षेत्र बनेर पनि चर्चामा आए । सुटिङ स्पट भन्दै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती तस्वीर सङ्ग्रहित भए । यसैले धेरै पर्यटक सोही क्षेत्र पुगे । जिल्लामा नयाँ पहिचान बनाएका पर्यटकीय क्षेत्र दिदीबहिनी झरना, पानीटार, पाटेनागी, झण्डे डाँडा, गुफाथुम्की मुख्य हुन् ।

बन्दाबन्दीअघि सामान्य चर्चा कमाएका यी क्षेत्र पछिल्लो समय एकाएक चर्चामा पुगेका हुन् । इलाम नगरपालिकाको दिदीबहिनी झरना पछिल्लो समय अत्यन्तै बढी पर्यटक पुग्ने मुख्य गन्तव्य क्षेत्र हो । विशेषगरी शुक्रबार र शनिबार यस क्षेत्रमा पर्यटकको चहलपहल चल्छ ।

उस्तै झरना, एकै ठाउँमा भएकाले यी झरनालाई दिदीबहिनी झरना भनिएको हो । सदरमुकाम नजिकै रहेकाले पनि यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको पर्यटनकर्मी सोम सुनुवारको भनाइ छ । सुगम सदरमुकाम नजिक र छोटो बाटो भएकाले पनि आन्तरिक पर्यटक पुग्ने गरेको सुनुवारको भनाइ छ ।