Wednesday, 21, April, 2021 info@saipalnews.com

प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्‍वास प्रस्ताव यथावत : देव गुरुङ

काठमाडौं १२ फागुन । नेकपा दाहाल–नेपाल समूहका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएका छन् ।बुधबार बसेको अनौपचारिक संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत रहेको बताएका हुन् ।

संसद् सुरु भएपछि दलहरुबीच आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने, ‘पुस ५ गते अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यो प्रस्ताव जीवित रुपमा यथावत् रहेको छ । सदन सुरु भएपछि दलहरुबीचमा आपसी सहमति, समझदारीको आधारमा त्यो प्रक्रिया अघि बढ्ने कुरा हो ।

सर्वोच्च अदालतको फैसलाअनुसार संसदको अधिवेशन बोलाउनै पर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उनले बताए । प्रमुख सचेतक गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसदलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरुमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको बताए ।

सर्वोच्च अदालतले संविधान र संसदको रक्षा गरेको भन्दै नेताहरुले एक आपसमा खुसी र बधाई साटासाट गरेको पनि बताए । संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा मन्तव्य राखेका थिए ।