Thursday, 22, April, 2021 info@saipalnews.com

ओली जन्माउने चरित्र नफेरिएसम्म आन्दोलन नरोक्ने उद्घोष

काठमाडौं १३ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रतिनिधिसभा पुनर्स्थापनासँगै नेकपा प्रचण्ड–माधव समूह, नेपाली काँग्रेसलगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता खुसीयालीमा जुटेका छन् ।

यसअघि ओलीको कदमलाई प्रतिगमन ठहर गर्दै आन्दोलनको मोर्चामा रहेका नागरिक अभियन्ताहरु भने अहिले मौन छन् । अदालतको फैसलाबारे उनीहरुको धारणा के छ रु नागरिक समाजको आन्दोलन सकिएको हो वा यो निरन्तर जारी रहन्छ रु यसबारे नागरिक अभियनताहरुको जवाफ यस्तो छ ।

युग पाठक, संयोजक, बृहत् नागरिक आन्दोलन

ओलीको स्वेच्छाचारी र सर्वसत्तावादी हर्कतलाई सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ, यो सकारात्मक हो । तर ओली जन्माउने, सर्वसत्तावादी प्रवृत्ति जन्माउने हाम्रो दलतन्त्र र राज्यसत्ताको चरित्र बदलेको छैन । त्यसकारण हाम्रो आन्दोलन निरन्तर रहन्छ ।

विभिन्न सकोराकारवालाहरुसँग सहयोग लिएर हाम्रो घोषणापत्रअनुसार विभिन्न स्वरुपमा यस आन्दोलनलाई निरन्तरता दिन्छौं । सडकमा भने हामी निस्किएका छैनौं किनकी अदालतको निर्णयसँग अब सडकमा विभिन्न प्रवृत्तिहरु निस्कन्छन् । एकथरी खुसीयालीमा र अर्कोथरी विरोधमा निस्किएलान् । तर, हाम्रो बुझाइ राज्यसत्ता र दलहरुभित्रको चरित्रका कारण अहिले संकट सिर्जना भएको हो भन्ने नै छ । समाजमा केपी ओली जन्माउने चरित्र त्यही हो ।

हाम्रो पार्टीतन्त्र र संविधानमा वैचारिक खोट छ र नेताहरुले समाज र राज्यलाई अघि बढाउने क्षमता प्रदर्शन गर्न सकेका छैनन् । सारमा,  संविधानमाथि सिधा प्रहार भएर निम्तिएको संकट टरेपनि संविधान जारी हुँदाको समयदेखि नै विभिन्न समुदायहरुलाई समेट्न नसक्दाको संकट कायमै छ । त्यसैले, संविधानमा अटाउन नसकेकाहरु पनि अटाउने गरी यसलाई अद्यावधिक गर्ने र विकसित गर्ने काम अघि बढाउन दलहरुलाई हामी दबाब दिइरहन्छौं ।   संघर्षका कार्यक्रमलाई अब कसरी अघि बढाउने भन्नेबारे छलफलमै छौं ।