Saturday, 12, June, 2021 info@saipalnews.com

प्रचण्ड–नेपाल पक्ष संसदीय दलको सर्त : ओलीले राजीनामा नगरे अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं २१ फागुन। नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा पहिलो सर्त बनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै राजनीतिक निकासका लागि संसद बैठक अघि प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेको छ । यो पक्षले आइतबार बिहानसम्म प्रधानमन्त्री ओलीको राजीनामा कुर्ने र नगरेको खण्डमा बिहान १० बजे नै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाएको छ ।

संसदीय दलको नेतामा चयन भएपछि अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘आउने दिन सहज बनाउँने हो भने संसद पुर्नस्थापना भइसकेपछि र आज संसदीय दलको बहुमतले झन्डै १ सय १५ जनाको हस्ताक्षरको बहुमतले मलाई दल नेता चयन गरिसकेपछि प्रधानमन्त्री केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि देशको लागि पनि सहज हुन्छ । उहाँले दिनुभएन भने त हामी संविधान, नियम कानुन, पद्धति अनुसार संसदबाटै हल खोल्छौँ । उहाँले अविश्वासको प्रस्तावको बाटोमा जान हामीलाई बाध्य पार्नुभएको छ हामी त्यही बाटो जान्छौँ ।’

संसदीय दलको बैठकमा बहुमत सांसद संख्या उपस्थित भएको प्रचण्ड नेपाल पक्षको दावी छ । नेकपाको पार्टी विभाजन पहिले संसदीय दलमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेर २ सय २० जना सांसद थिए । जसमध्ये प्रतिनिधि सभामा सभामुखमा निर्वाचित भएपछि अग्नि सापकोटाको स्थान, सांसद सानु सिवाको निधनका कारण सिट संख्या घटेको छ  ।

शुक्रबारको संसदीय दलको बैठकमा नेकपाका १ सय ११ जना सांसदले स(शरीर उपस्थित भएर हस्ताक्षर गरेका छन् भने बाँकी ४ जना उपत्यका बाहिर रहेको र हस्ताक्षर गर्न प्रतिबद्ध रहेकोले यो पक्षमा बहुमत संख्या देखिएको हो । आजको बैठकमा सांसदहरु योगेश भट्टराई, चक्रपाणी खनाल बलदेव, विना पोखरेल र कृष्णबहादुर महरा काठमाडौं बाहिर भएका कारण बैठकमा उपस्थित भएका थिएनन् भने यसअघि प्रधानमन्त्री ओली पक्षमा गएकी सांसद माया ज्ञवाली पनि प्रचण्ड नेपाल पक्षमा फर्किएकी छिन् ।

हामी वैधानिक हौँः प्रचण्ड

संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष प्रचण्डले बहुमत सांसदले आफूलाई संसदीय दलको नेता चयन गरेकोले आफ्नो पक्ष नै वैधानिक रहेको उल्लेख गरे । जेष्ठ सदस्यको रुपमा झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेताको चयन गरेको थियो ।

प्रचण्डले भने, ‘राजनीतिक रुपमा मात्र हैन, वैधानिक रुपमा पनि मैले दलको नेताको जिम्मेवारी पाएको छु । मैले यसलाई अवसर र चुनौतीका रुपमा लिएको छु । जो साथीहरु भ्रमका कारण ओली समूहमा हुनुहुन्छ मैले उहाँहरुलाई अपिल गरेको छु, मूल पार्टी यही नै हो । सबै यसमै केन्द्रीत हौं । संसदीय दल भनेको पनि यही हो, यसमै केन्द्रित हुन अपिल गरेको छु ।

प्रतिनिधि सभाको बैठक बस्नुभन्दा अगाडि संसदीय दलको बैठक बस्नुपर्ने ब्यवस्था अनुसार शुक्रबार प्रचण्ड नेपाल पक्षको बैठक बसेको हो भने शनिवार प्रधानमन्त्री ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीबारे संसदीय दलले निर्णय लिएन  ।

प्रचण्ड–नेपाल पक्ष संसदीय दलको बैठकले भावी प्रधानमन्त्रीको विषयमा भने निर्णय गर्न सकेन । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिएका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ नेता झलनाथ खनाल र अध्यक्ष प्रचण्डले त्यसबारे निर्णय भइनसकेको उल्लेख गरे । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा  भावी प्रधानमन्त्रीको नाम पनि समावेश गर्नुपर्ने व्यवस्था छ ।

यसबारेमा दलहरुबीच छलफल भइरहेको बताएका छन् । उनले भने–‘यसबारे हामी छलफलकै क्रममा रहेका छौँ । हिजो जसले प्रतिनिधि सभा विघटनलाई अलोकतान्त्रिक, असंवैधानिक, स्वेच्छाचारी भनेर सडकमा गए, सडकका गएका दलहरूसँग मुद्दाका आधारमा हाम्रो सहकार्य हुन्छ, सरकार बनाउने कुरामा पनि सहकार्य हुन्छ ।

मलाई लाग्छ यसबारे एक दुई दिनमा टुङ्गो लाग्छ । भावी प्रधानमन्त्रीका लागि प्रचण्ड–नेपाल पक्षको एक्लैको बहुमत नपुग्ने भएपछि उसले नेपाली काँग्रेस वा जनता समाजवादी पार्टीको सहयोग लिनुपर्ने हुन्छ । प्रतिनिधि सभामा रहेको कूल संख्या अर्थात २ सय ७५ सांसदको ५१ प्रतिशत बहुमत सांसद भएको दलले प्रधानमन्त्री बनाउन पाउने व्यवस्था रहेको छ ।