Wednesday, 12, May, 2021 info@saipalnews.com

करोडौँका सिँचाइ आयोजना सम्पन्नः किसान हर्षित

सुनसरी ७ वैशाख ।  सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत चतरा मूल नहरको मोरङस्थित लोहन्द्रा खोलामा भत्किएको संरचना निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका किसान हर्षित भएका छन् ।

तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किमी पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टि शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषक नहरका पानी खेतमा देख्न पाएका थिएनन् । यही वैशाख महिनाको अन्तिम साता पानी सञ्चालन हुने भनिएपछि त्यस क्षेत्रका कृषक हर्षित भएका हुन् ।

उक्त शाखा नहरका जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठ, शिवु थापा, देवीप्रसाद भण्डारी, भक्ति थापा र खड्गप्रसाद साहले भन्नुभयो, “नहर सञ्चालन हुने कुराले हामी हर्षित भएका छौँ, तर चार वर्षदेखि बन्द रहेका नहरमा अहिले घाँस, झार, दलकच्चु र माटोले पुरिएको अवस्था छ, खेतमा भरपूर पानी जान सक्ने अवस्था छैन, त्यसैले नहर सफा गर्नु अत्यन्त जरुरी छ ।

उनीहरुले वर्षे धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भर पर्नुपरेको थियो भन्दै अब नहरमा पानी आउने भएपछि हामी उत्पादनमा पूर्ववत अवस्थामा फर्किने बताए । गएको वर्षमा वर्षातका मौसममा राम्रै पानी परेकाले त्यति समस्या नभए पनि हिउँदमा लगाउने दलहन, तेलहन र गहुँबालीका लागि भोग्नुपर्ने समस्या अन्त्य हुने कुराले हामी निकै उत्साहित छौँ समितिका अध्यक्षहरुको भनाइ छ ।