Sunday, 09, May, 2021 info@saipalnews.com

आउछन् एकछिन उभिएर जान्छन्

आफ्ना जस्तै आउछन् एकछिन उभिएर जान्छन्।

आफ्नाहरूले नै दुखाउने चोटहरू दिएर जान्छन्।

बगरको ढुङ्गा हूँ छेउमै बग्ने नदीसँग डराउनु छैन ।

छालहरू आउछन नदीमा र छचल्किएर जान्छन्।

यात्रा नै रहेछ जिन्दगी सम्हालिएर हिड्न सिक्दैछु

गन्तव्यमा पुग्छन जो बाटोमा सम्हालिएर जान्छन्।

गुनासो छैन ए जिन्दगी तिमीसँग भने जस्तो हुदैन,

भाग्यले हो कोही हिड्छन कोही घस्रीएर जान्छन्। 

सम्झौता गरेर चल्नु पर्दोरहेछ आफैसँग आफैले

मिल्नेहरू जोडिन्छन नमिल्ने चोइटिएर जान्छन्।

धेरै फुर्ती नगर्नु मित्र तिम्रो भीमकाय आकारको

                       ठुला ठुला चट्टानहरू पानीसँग खिइएर जान्छन्।