Sunday, 09, May, 2021 info@saipalnews.com

तात्यो राजनीतिक माहोल, सुरु भयो नेताहरुको दौडधुप

काठमाडौं ८ वैशाख । केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार बनाउन राजनीतिक दलहरुबीच पुनः दौडधूप सुरु भएको छ । नयाँ सरकार गठनको दिशामा केही दिनयता शिथिल देखिएको राजनीतिक गतिविधि बुधबार एकाएक तातेको हो ।

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले अबको केही दिनमै मुलुकको राजनीतिले कोल्टे फेर्ने दाबी गर्नु र नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनु संयोग मात्र होइन ।

ओली नेतृत्वको सरकार विस्थापित गर्नका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रबीच बन्ने गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपालको सहभागिता अनिवार्य हुन्छ । यद्यपि बुधबारसम्म जसपा नेपालले भने यसबारे कुनै धारणा प्रकाशमा ल्याएको छैन ।

देउवामा आत्मविश्वास

बुधबार आफ्नै निवासमा आयोजित पदाधिकारी बैठकमा काँग्रेस सभापति देउवा निकै आत्मविश्वासका साथ प्रस्तुत भएको सहभागी स्रोतले जनायो ।

देउवाले माओवादी केन्द्र र जसपासँग निरन्तर हुँदै आएको वार्ता फलदायी भएको भन्दै केहीदिनमै ओली नेतृत्वको सरकार विस्थापित हुने दाबी गरे । उनले ओली सरकार ढाल्न तीन दल सहमति नजिक पुगेकाले केहीदिनमै राजनीतिले कोल्टे फेर्ने ब्रिफिङ गरेका थिए ।