Sunday, 09, May, 2021 info@saipalnews.com

एमाले वरिष्ठ नेता नेपालसहितका १५ नेताले भने–पार्टी विभाजनको डिलमा पुग्यो

काठमाडौं ९ वैशाख । नेकपा एमालेको माधव कुमार नेपाल समूहले पार्टी विभाजनको डिलमा पुगेको निष्कर्ष निकालेको छ । नेपालसहितका १५ नेताले बिहीबार संयुक्त अपील जारी गर्दै पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको उल्लेख गरेका छन्।

केपी ओलीका क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ । वैचारिकरुपमा समेत उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुुनुहुन्छ’, अपीलमा भनिएको छ, ‘ नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै हुनुहुन्छ, पार्टीका नेता तथा सांसदहरूमाथि तथाकथित स्पष्टिकरण र कार्यवाहीको नाटक गरिँदै छ ।

यसरी तीन वर्ष अगाडि राष्ट्रिय तथा अन्तरराष्ट्रि प्रतिष्ठाका साथ उपलब्धीको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको यो पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ ।’ बुधबार राति ओली र नेपालबीच वार्ता भएको थियो भने बिहीबार पनि वार्ता हुने बताइएको छ ।