Sunday, 09, May, 2021 info@saipalnews.com

टीकापुर र सेती अस्पतालमा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

कैलाली १६ वैशाख । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् ।

अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन् । “कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउनसमेत नागरिकलाई अनुरोध गरेका छौँ”, टीकापुर अस्पतालका डा रमेशप्रसाद उपाध्यायले भने, “कोरोना सङ्क्रमणका बिरामीलाई धान्न सक्ने अवस्था छैन । अब अस्पतालमा अन्य बिरामीको भीड गर्न थप जोखिम भएको छ । अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन ।