Tuesday, 11, May, 2021 info@saipalnews.com

स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने आठ हजारलाई कारवाही

काठमाडौं १७ वैशाख । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ ।  उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका  अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको र  नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाएर छाडिएको छ ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले कारवाही अभियानसँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । मानिसले सरकारी आदेशको उल्लङ्घन गरी जथाभावी रुपमा हिँडडुल गरेपछि सचेतनामूलक कार्यक्रम गरी सुझाव दिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले ठाउँठाउँमा प्ले कार्डसमेत प्रदर्शन गरेको तथा बटुवालाई भेटेरै मास्क लगाउन, सावधानी अपनाउन तथा अत्यावश्यक काम नपरी बाहिर ननिस्किने शर्तमा घर पठाउने गरिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ५१८  सचेतनामूलक कार्यक्रम सम्पन्न भएको र तिनमा ६८ हजार ५६७ जना सहभागी भएका छन् ।