Friday, 30, July, 2021 info@saipalnews.com

सुन्दर ग्लास हाउसमा आगलागी

बुटवल २६ असार । गएराति रुपन्देहीको  एक ग्लास हाउसमा   आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८  भैरहवाका नारायण पथमा  रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर  निभ्न सकेको थिएन । अहिले विहान  पनि दुई वटा दमकल घटना स्थल मै रहेको र  आगलागी नियन्त्रणमा आएको  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

प्रजिअ तामाङका अनुसार ग्लास हाउसको निकै महङ्गो मुल्य पर्ने फाइवर लगायत  सबै जलेर नष्ट भएको छ । रातभर आगो नियन्त्रणका लागि  रुपन्देही र छिमेकी जिल्लाको समेत जनशक्ति र श्रोत साधन प्रयोग गरियो । २० भन्दा बढी दमकलको प्रयोग भएको छ भने  नेपाली सेना , शसस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटेपछि विहान ५ बजेतिर आगो नियन्त्रकमा आएको हो ।

जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा विमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगायतका दमकल  परिचालन भएका थिए  । आगलागीबाट पसलका सबै सामग्रीका र दुई तल्ले घर ध्वस्त भएको छ । क्लिपबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको जनाइएको छ ।

घरको  माथिल्लो तल्लामा उक्त पसल धनीको परिवार बस्दै आएकोमा  उनीहरुलाई सुरक्षाकर्मीहरुले सकुशल उद्धार  गरेका थिए । घर पसलमा  रहेको नगद, मोटरसाइकल, लगायत गरि  ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले बताए ।