Friday, 30, July, 2021 info@saipalnews.com

मुख्यमन्त्री कहाँ छन् थाहा छैन, अँध्यारो कोठामा : पृथ्वीसुब्बा गुरुङ

पोखरा २७ असार । जेठ २७ मा विश्वासको मत प्राप्त नगरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्यो । २९ गते विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने ।

साढे ३ वर्षसम्म सरकारलाई खबरदारी गर्ने ठाउँबाट कांग्रेस अब जवाफ दिने ठाउँमा पुगेको छ भने एमाले प्रश्न गर्ने ठाउँमा छ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासमेतको समर्थनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एक स्वतन्त्रसहित विपक्षी गठबन्धन एकातिर र नेकपा एमालेमात्र प्रतिपक्षी दलतिर छ ।

सरकार गठन भएको महिना दिन पुग्नै लाग्दा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीतिर थुप्रै प्रश्न सोझिइसकेका छन् भने पूर्व सरकार र वर्तमान सरकारबीच योजना र कायान्वयनमा आरोपरप्रत्यारोप पेचिलो बनेको छ ।

कृष्णचन्द्र मुख्यमन्त्री नियुक्त भएसँगै गठबन्धनभित्रै किचलो भएपछि मन्त्रिपरिषद बिस्तार गर्नै सकिरहेका छैनन् भने मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गर्न पनि नसकेपछि मुख्यमन्त्री नेपालीको निर्णय क्षमतामाथि प्रश्न उठिरहेको छ । पछिल्लो पटक १० दिनमै खर्च गर्ने भन्दै सत्ता पक्षका सांसदमार्फत बाँड्ने गरी १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेपछि अहिलेको सरकार आलोचित बन्यो ।

सरकार बनेको महसुस गराउन भन्दै रकमान्तर गरी विकास कार्यक्रममै नभएको योजनामा सांसदमार्फत पैसा बाँड्न लागेको सरकारलाई आरोप लाग्यो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा असार २१ गते रकमान्तरको विषयमा प्रश्न उठेपछि सरकारका प्रवक्तासमेत रहेका सामाजिक विकास मन्त्री कुमार खड्काले विषय पूर्वसरकारतिर सोझ्याइदिए ।

विधिसंगत रुपमै रकमान्तर गरेको बताउँदै प्रवक्ता खड्काले खल्तीबाट एउटा सूची लिकाल्दै भने, ‘हामीले त्यस्तो ठूलो गल्ती केही गरेका छैनौं, त्योभन्दा पनि अघिल्लो सरकारले जाँदाजाँदै बजेटमै नपरेका साढे ४ अर्बका योजनामा ठेक्का लगाएर गयो ।’ किसुनजीको पालामा होस् वा पृथ्वीसुब्बाकै सरकारमा पनि रकमान्तर भएको बताउँदै खड्काले बरु अघिल्लो सरकारले विकास कार्यक्रममै नभएको योजनालाई ठेक्कामा लगाएर गएको आरोप लगाए ।

अहिलेको सरकारले ल्याएको बजेटमाथि छलफल गर्न संसद बैठक बस्नुभन्दा अघिल्लो दिन आफ्नो सरकारमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बाले त्यसको खण्डन गरेका छन् । एमाले संसदीय दलले पत्रकार सम्मेलन गरी आफ्नो सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, अर्थमन्त्री किरण गुरुङसहित पूर्वमुख्यमन्त्री गुरुङले अहिलेको सरकारले भ्रष्टाचारलाई ढाकछोप गर्ने हत्कण्डा अपनाएको बताए ।

अहिलेका सरकारका प्रवक्ता कुमार खड्काले झुटो आरोप लगाएको बताए । ‘बच्चाको खेल हो र विकासको योजना रु ठेक्का नियम र कानुन खिलाफ छैन । कहीं त्यस्तो खिलाफ भए खबर गर्नुस्,’ मुख्यमन्त्री गुरुङले भने ।वाषिर्क विकास कार्यक्रममै समेटिएको योजना ठेक्का लगाइएको बताउँदै मुख्यमन्त्री गुरुङले बरु अहिलेको सरकारको सुरुवात नै भ्रष्टाचारको अभियानबाट भएको आरोप लगाएका छन् ।

गैरबजेटरी १६ करोड रुपैयाँ बाँड्नु भ्रष्टाचारकै सुरुआत भएको उनको भनाइ थियो । जिल्लाका सभापति बोलाएर, कार्यकर्ता पोस्ने गरी रकमान्तर गरेर पैसा बाँड्नु भ्रष्टाचार भएको भन्दै गुरुङले भने, ‘टेण्डर गर्नुपर्‍यो, नभए उपभोक्ता समिति गठन गर्नुपर्ने होला । १० दिनमा यो सम्भव हुँदैन ।

अहिलेको सरकारका प्रवक्ता खड्काले जाँदाजाँदै ठेक्का लगाएको भनेर आरोप लगाएकोबारे पूर्वसरकारका प्रवक्ता बस्नेतले लिस्टसहित खण्डन गरेका थिए । त्यसमध्ये ८ वटा चैत र बैशाखमा टेन्डर लगाइएका थिए ।

रातो किताबमा समावेश भएकै योजना भएको र नियमित रुपमै बजेट बिनियोजन गरेर ठेक्का लगाइएको बस्नेतले बताए । नेपाल सरकारको समपूरक अनुदानसमेत गरी आधा आधा खर्च व्यहोर्ने गरी ठेक्का लगाइएको उनको भनाइ थियो । एक निर्वाचन, एक सडक, प्रदेशको रणनीतिक सडक अन्तर्गतका योजना ठेक्कामा लगाइएको बस्नेतले बताए ।

पूर्व मुख्यमन्त्री गुरुङले आफ् नो भ्रष्टाचारलाई ढाकछोप गर्न अहिलेको सरकारका प्रवक्ता खड्काले झ्याली पिटेको आरोप लगाए । आफ्नो सरकारले पञ्चवर्षीय योजना, मध्यकालीन खर्च संरचना र दीगो विकासको लक्ष्यलाई पछ्याउँदै विकासको अभियान चलाएको उनको दाबी थियो ।