Friday, 30, July, 2021 info@saipalnews.com

तस्कर छुट्न थालेपछि संरक्षणकर्मी चिन्तित

चितवन १ साउन । अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् ।

सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त पक्राउ परिरहने र अदालतबाट धरौटीमा छुटिरहने प्रक्रियाले संरक्षणमा थप चुनौती थपिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले वन्यजन्तुको चोरी शिकारीमा संलग्न हुने अपराधीलाई कडाभन्दा कडा कारवाहीका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

विश्वमा नै नेपाललाई चिनाउने राष्ट्रिय निकुञ्ज र यसमा पाइने एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको चोरी शिकारी गर्ने तस्कर पूरा कारवाहीको भागीदार भएर छुट्दासमेत पुनः चोरी शिकारीमै संलग्न भएको तथ्याङ्क सार्वजनिक भइरहँदा अहिले अभियुक्तहरू अदालतबाटै धमाधम छुट्न लागेकामा सरोकारवालाले चिन्ता प्रकट गरेका हुन् ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण महतो, मिलीजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव कमानसिंह चौधरी र टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ईश्वरीप्रसाद लामिछाने संयुक्तरूपमा विज्ञप्ति जारी गरेका छन् ।