Saturday, 31, July, 2021 info@saipalnews.com

श्रीमतीको कान काट्ने श्रीमान पक्राउ

कैलाली ४ साउन । दुई दिन अघि श्रीमानले कान काटिदिएपछि जानकी कानको टुक्रा लिएर जिल्ला अस्पताल बझाङ पुगेकी थिइन्। घटना भएकै दिन उनी अस्पताल पुग्न सकिनन्। कसैको सहयोग नपाएपछि उनी असहाय पीडामै बसिन्। माइतीलाई पनि खबर गर्न सकिनन्। शुक्रबारमात्रै एक जना महिलाले उनलाई अस्पताल पुर्‍याइदिइन्। पछि खबर सुनेर उनका आमा-बुवा पनि आए।

बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर १ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीको बायाँ कान उनका २५ वर्षीय श्रीमान मनोजले काटिदिएका थिए। मनोजले जानकीमाथि कुटपिट गरी चक्कुले कान काटेका थिए। अस्पतालकी एक नर्सका अनुसार उनको कानको बीचको भागको चोक्टो नै थिएन।

मनोज प्रायस् घरमा मदिरा सेवन गरेर आउँथे। गत बुधबार पनि मदिरा सेवन गरेर आएका मनोजले जानकीमाथि कुटपिट गरेका थिए। उनले बुधबार दिउँसो एक जना आफन्तसँग हाँसेको निहुँमा कुटेका थिए ।

पहिला हातले कुट्यो, पछि जे हात लाग्यो त्यसैले हान्यो। म ढलेँ अनि चक्कुले कान काट्यो,’ उनले भनिन्, त्यही कान भोलि मेडिकल गएर जोड्नु भनेर हातमा दिए। कान काटेपछि निकै असह्य भएर दुखेपछि आफू उठ्न नसकेको उनले बताइन्। कानबाट रगत निरन्तर बग्न थालेपछि श्रीमान त्यहाँबाट भागे।

उनीमाथि यस्तो पहिलो पटक भने भएको थिएन। पहिले पनि उनको शरीरमा चक्कुले काटेका दागहरू भएको बताइन्। शरीरको रगत बगेर कमजोर भएकी उनी दुब्ली देखिन्छन्। १५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो। २१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन्।

सानै उमेरमा विवाह गरेकी जानकीलाई श्रीमानले बेलाबेला दिइरहने हिंसा र यातनाले आफू पीडामा रहेको बताउँछिन्। बिहे गरेकै दिनदेखि उनलाई श्रीमानले गालीगलौज र कुटपिट गर्न थालेका थिए। तर उनी चुपचाप सहेर बस्थिन्। अहिले कान नै काटिदिएपछि श्रीमानको यातनाबारे सुनाउन बाध्य भएको बताउँछिन्। उनी आफ्ना श्रीमान र छोराछोरीसँग बस्छन्। उनका सासू(ससुरा र अरू परिवार भारतको बैंगलोरमा छन्।