Saturday, 31, July, 2021 info@saipalnews.com

साझा कार्यक्रममार्फत सरकार सञ्चालन गर्ने माओवादीको निर्णय

काठमाडौ ६ साउन । नेकपा माओवादीले  शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ ।

बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गर्दै त्यस्ता कार्यक्रम तय गर्न कार्यदललाई निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै   हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा बैठकले जोड दिएको पनि बताए । ‘गठबन्धनको सरकार न्युनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आव्हान गरेको छ र कार्यदलका सदस्यहरुलाई निर्देशन दिएको छ’, बैठकपछि नेता श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।