Thursday, 23, September, 2021 info@saipalnews.com

देउवा–प्रचण्ड भेटवार्ता, मन्त्रिमण्डल विस्तारको तयारी

काठमाडौं १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो ।

देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका कारण ढिलाई हुदै आएको छ ।

बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

जवाफमा दुवै नेताले आफ्नातर्फबाट मन्त्री हुने नेताको नाम दिने बताएका थिए । सोही अनुसार प्रचण्डले आज देउवालाई आफ्नो पार्टीबाट मन्त्री बनाउन लागिएका नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बुझिएको छ । यसअघि देउवा नेतृत्वको सरकारमा माओवादीका जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा गैसकेका छन् । अहिलेसम्म माओवादीका दुईसहित काँग्रेसका वालकृष्ण खाँड,ज्ञानेन्द्र कार्की र उमेश श्रेष्ठले मन्त्रीको जिम्मेवारी पाएका छन् ।