Monday, 20, September, 2021 info@saipalnews.com

हामीलाई सास वा लास देऊ सरकार

काठमाडौं १४ भदौ । सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाहरुको परिवारले आफन्तको सास वा लास दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

महोत्तरीको सोनमा गाउँपालिका–२ बस्ने वीरेन्द्रकुमार यादव सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीका सर्लाही जिल्लाको एरिया कमिटी मेम्बर एसिएम थिए । वीरेन्द्रका अनुसार उनलाई खोज्नका लागि नेपाली सेनाको टोली उनको घर गइरहन्थ्यो । ०६० साल कार्तिक २० गते वीरेन्द्रको घरबाट आफ्नो बुबा, काका, दुई भाइसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरेर लगेको उनले बताए । ‘त्यो दिनदेखि अहिलेसम्म पनि उनीहरुको सास वा लासको अत्तोपत्तो छैन,’ उनले भने ।

राजनीतिक एजेण्डा पूरा नहुँदै पार्टी नेतृत्वले आत्मसमर्पण गरेको भन्दै उनी माओवादी परित्याग गरी हाल मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध छन् । उनले भने, ‘यदि मृत्यु भइसकेको भए पनि लास देखाइदिनु प¥यो, कमसे कम काजक्रिया गरेर घरपरिवारले आफ्नो मन बुझाउँथ्यो । परिवारका सदस्य मरेको वा बाँचेकै थाहा पाउन सकिएन ।’

आफ्नै आँखा अगाडिबाट लगिएका पतिको अवस्था शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि सार्वजनिक हुन नसक्नुले ठुलो पीडा भइरहेको धनुषाको मिथिला नगरपालिका, लालगढकी सिर्जना शाही बताउँछिन् । उनी भन्छिन्, ‘उहाँ पतिको हत्या भएको हो कि जिउँदै हुनुहुन्छ भनेर थाहा पाउन पनि सकिएको छैन, अहिले न म विधवा बनेर हिँड्न सकेकी छु, न त विवाहिता महिला भएर हिँड्न सकेकी छु ।

पतिलाई प्रहरी वा सेनाले मारेकै भए पनि कम्तीमा चिहान देखाइदेऊ भन्ने आफ्नो माग रहेको उनको भनाइ छ । ‘बरु अस्थिपञ्जर देखेरै भए पनि चित्त बुझाउँथ्यौँ,’ उनले भनिन् । सशस्त्र द्वन्द्वका बेला राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका अधिकांशको अवस्था अज्ञात छ ।