Monday, 20, September, 2021 info@saipalnews.com

मुख्यमन्त्री केसीद्वारा ‘सगुन स्मृति पार्क’को उद्घाटन

बुटवल १४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सगुनलाल चौधरीको स्मृतिमा निर्माण गरिएको ‘सगुन स्मृति पार्क’ को उद्घाटन गर्नुभएको छ । उहाँले बर्दियाको बारबर्दिया नगरपालिका–१० मा निर्माण गरिएको चौधरी सालिकसहित सो पार्कको आज उद्घाटन गर्नुभएको हो ।

त्यसैगरी मुख्यमन्त्री केसीले बारबर्दिया–११ बेलभारमा निर्माण गरिएको बालसंरक्षण केन्द्रको आवासीय भवनको आजै उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा नेपालमै पहिलो बेपत्ता स्मृति पार्क निर्माण भएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा मुख्यमन्त्री ग्रामीण कार्यक्रममार्फत शहीद बेपत्ताका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिँदै मुख्यमन्त्री केसीले सगुनलाल चौधरीको सम्झनामा गोचाली घरबास होमस्टे सञ्चालन गर्न स्थानीयवासीलाई अनुरोध गर्नुभयो । उहाँले बेपत्ताहरूको परिवार तथा बालबालिकालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।