Monday, 20, September, 2021 info@saipalnews.com

दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना

काठमाडौं १५ भदौ । दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीकै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न र  धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस गरिएको छ । गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो । घटना भने साउन १५ मा भएको थियो ।

यता नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले मोटरसाइकल चालक दीपक पुन र स्व वाग्लेको असावधानीका कारण दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन आजै गृहमन्त्रीलाई बुझाएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।