Monday, 20, September, 2021 info@saipalnews.com

सिमकोट विमानस्थल दिनभर व्यस्त

हुम्ला १८ भदौ । हुम्लाको एकमात्रै सिमकोट विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल निकै बढेको थियो । सद्गुरु जग्गी वासुदेवको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो ।

आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन उडान र समिट एयरलाइन्सले एउटा उडान हुम्लाबाट विदेशी पर्यटक लिएर पोखरा भरेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिनुभयो । हुम्लाबाट ४७ जना विदेशी पर्यटक आज जिल्ला बाहिरिएको विमानस्थलका प्रमुख गिरीले जानकारी दिनुभयो । तारा एयरलाइन्सले तीन उडानमा ३१ जना र समिट एयरलाइन्सले १६ जना विदेशी पर्यटक यात्रुलाई लिएर हुम्लाबाट पोखरा गएको बताइएको छ ।

पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी आज सद्गुरु सिमकोट आई आजै पोखरा फिर्ता हुनुभएको हो । हेलिकप्टरबाट सिमकोट फर्किनुभएका सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताउनुभयो । दर्शनको यात्रामा भने केही कठिनाइ हुँदा पैदलमार्गको सडकलाई विकसित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । पैदलमार्गबाट लाप्चा पुगेको उहाँको टोलीलाई हेलिकप्टरले आज सिमकोट पु¥याएको थियो ।