Monday, 20, September, 2021 info@saipalnews.com

अस्पतालको प्राङ्गणमै स्वास्थ्यकर्मीमाथि कुटपिट

काठमाडौँ १८ भदौ । धनुषाको जनकपुरधामा रहेको प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । बिहीबार दिउँसो स्वास्थ्यकर्मीमाथि गैरस्वास्थ्यकर्मीहरुले दुर्व्यवहार गर्नुका साथै उनीमाथि कुटपिट गरेका हुन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा गुण्डागर्दी शैलीमा आएको एक समूहले अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो ।

अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बाहिर बोलाएर उक्त समूहले कुटपिट अस्पताल प्रशासनले जनाकारी दिएको छ । अस्पताल समितिको बैठक चलिरहेको बेला आफूलाई एक जनाले बाहिर आउन आग्रह गरेको र योजनावद्ध ढङ्गले कुटपिट गरेको उनले बताए ।

कुटपिटबाट घाइते भएका अहेव ठाकुर प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्केका छन् । चिकित्सकमाथि हातपात भइरहँदा अस्पतालमा रहेका सुरक्षाकर्मी र अस्पताल प्रशासनसमेत मौन छन् । अहेव ठाकुरलाई कुटपिट भएको स्थलमा चौबीसै घण्टा प्रहरीको टोली रहने गर्छ । तर दिनदहाडै अस्पताल परिसरमै स्वास्थ्यकर्मीमाथि कुटपिट हुँदा न प्रहरी प्रशासनले आफ्नो भूमिका निर्वाह गरेको देखियो, न अस्पताल प्रशासनले नै कुनै कदम चाल्न सक्यो ।