Monday, 20, September, 2021 info@saipalnews.com

नेपाली आकाशमा ३ दिनदेखि भारतीय हेलिकप्टर

काठमाडौँ १८ भदौ । तीन दिनदेखि नेपाली आकाशमा निरन्तर भारतीय हेलिकप्टर घुमिरहेको पाइएको छ । दार्चुलाका जयसिंह धामीको घटनामा छानविन समितिले भारतीय सुरक्षा बल एसएसबीको सङलन्ता रहेको प्रतिवेदन बुझाएसँगै दार्चुलाको व्यास गाउँपालिकाको आकाशमा भारतीय हलिकप्टर घुमिरहेको प्रमुख जिल्ला अधिकारी सिद्धरान जोशीले जानकारी दिनुभएको छ ।

साउन १५ मा भारतीय सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भए । गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामा अर्को ज्यादती शुरु गरेको छ । पछिल्लो तीन दिनयता खलंगा क्षेत्रमा निरन्तर हेलिकप्टर उड्न थालेपछि हामीले सो गतिविधि रोक्न पत्राचार गरेका छौं’ प्रजिअ जोशीले भने–‘बिहिबार पत्र पठायौं, जवाफ आएको छैन । तीन दिनअघि भारतीय पक्षले महाकाली नदीको किनारमा मात्र हेली उडाउने गरेको थियो । तर, भारतले तीन दिनयता खलंगास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाइरहेको छ ।

स्थानीय प्रशासनले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आपत्ति जनाएको छ । नेपाली सेनाको दार्चुलास्थित गुरु गोरख गुल्मले पनि जंगी अड्डालाई यसबारे जानकारी गराइसकेको छ ।