Monday, 20, September, 2021 info@saipalnews.com

मरेको मानिसले………हेर्छ कि हेर्देन

मरेको मानिसले

पछाडी फर्केर – आँसुले टिपलपिल भएका

आफन्तका आँखाहरु हेर्छ कि हेर्देन ?

मरेको मानिस

हिँड्छ कति कोस, कति जुनी ?

कुन नदीको किनारमा

नुहाउँछ चिसो पानीले,

र धुन्छ( गालाभरि बसेका

आँसुका धमिला धर्साहरु,

मरेको मानिस रुन्छ कि रुदैन ?

के – के लैजान्छ

मरेको मानिसले आफ्नो झोलामा–

जीवनकालभरि सबैबाट जोगाएका

स्मृतीहरु ?

पहिलोपल्ट लेखेको प्रेमपत्र ?

पहिलोपल्ट हिडेको पाइला ?

प्रिय किताव ?

परिवारको सामुहिक तस्विर ?

पहिलोपल्ट सन्तानले बोलेको

आफ्नो नाम ?

कि जान्छ – सबै छाडेर

बिर्सिएर सवथोक,

आत्मबाट मेटाएर

जीवनले कोरेका चित्र र अक्षरहरु ।

मरेको मानिसले

आकाशगंगाको डिलमा उभिएर

मुटुबाट सम्बन्धका ध्वजाहरु

फुकाउँछ कि फुकाउँदैन ?

अन्तिमपल्ट

धर्तितिर फर्किएर,

एकजुनी जीवनमा आफूसँग गाँसिएका

सबै – सबैलाई सम्झिएर

मुस्कुराउँछ कि मुस्कुराउँदैन ?

मरेको मानिसको

गोजीमा

फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?