Monday, 20, September, 2021 info@saipalnews.com

सरकारले भदौ २४ गते बजेट विधेयक संसदमा पेश गर्ने

काठमाडौँ २२ भदौ । सरकारले आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले विधेयक ल्याउन लागेको हो । भदौ २४ गते संसदमा दर्ता गराउँने विधेयक तयार अवस्थामा राखिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकारसमेत परिवर्तन गरिएको स्रोतको भनाइ छ ।

भदौ १९ गते (गत शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले भदौ २४ गते संसद बैठक बोलाउने निर्णय गरिसकेको छ । तयार गरिएको विधेयक संसदमा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा (एमाले) का गतिविधि आङ्कलन गर्ने भएको छ । बुधबार बस्ने संसद बैठकमा सो दलको गतिविधि हेर्ने र बिहीबार संसदमा विधेयक दर्ता गराउने तयारी भइरहेको बुझिएको छ ।

विधेयक दर्ता भएको एक साताभित्रै आवश्यक छलफल गरी विधेयक स्वीकृत गर्ने सरकारको योजना छ । आफू सरकारमा रहँदा ल्याएको बजेट अध्यादेश विस्थापित गर्न प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै विरोध गरिरहेको एमालेले भने भोलि (बुधबार) बस्ने संसद बैठक नै अवरोध गर्नसक्ने आङ्कलन छ । ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।