Wednesday, 19, January, 2022 info@saipalnews.com

कांग्रेस १४औँ महाधिवेशन अन्योलमा, निर्वाचन संयोजकले दिए राजीनामा

काठमाडौं २५ भदौ। नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट आफूले राजीनामा दिएको यादवले जानकारी दिए ।

पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।

जसका कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।

असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने अवस्था छ ।प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

उक्त कार्यतालिका अनुसार अधिवेशन गराउने कुरामा पार्टीका नेताहरुबाट सहयोग भन्दा झमेला थप्ने काम भएको निर्वाचन समितिको गुनासो छ ।महाधिवेशन प्रक्रिया जारी रहेका बेला यादवले दिएको राजीनामा स्वीकृत हुन्छ हुँदैन यकिन छैन । तर नेताहरुको अनावश्यक दबाबका कारणले यसअघि राधेश्याम अधिकारीले पनि निर्वाचन समितिको.संयोजकबाट राजीनामा दिएका थिए ।

गत चैत १६ गतेबाट अधिकारीले निर्वाचन समितिको जिम्मेवारी छोडेका थिए । अधिकारीको ठाउँमा आएका यादवले पनि महाधिवेशन सम्पन्न नगराइ राजीनामा बुझाएका छन् । काँग्रेस महाधिवेशनमा यसले थप अन्योलता उत्पन्न गराएको छ ।