Wednesday, 19, January, 2022 info@saipalnews.com

कांग्रेसको पालिका अधिवेशन सर्‍यो

काठमाडौं २५ भदौ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारका लागि तोकिएको पालिका तहको अधिवेशन सरेको छ । केन्द्रीय निर्वाचन समितिले पालिकासहित जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिकामै हेरफेर गरेको हो ।

सदस्यताको विवादका कारण वडा तहको अधिवेशन प्रभावित भएपछि कांग्रेसले पुनस् कार्यतालिकामै संशोधन गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यतालिका फेरबदल गर्ने विषयमा शुक्रबार बिहान सहमति भएको थियो । देउवा र पौडेलबीच बिहीबार पनि बालुवाटारमा भेटवार्ता भएको थियो । त्यसक्रममा पौडेलले वडा अधिवेशन सम्पन्न भएपछि ७५३ वटै पालिकाको अधिवेशन एकै दिन गर्नुपर्ने प्रस्ताव गरेका थिए । शुक्रबार बिहान पुनस् नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित नेताहरुले देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

त्यहीअनुसार शुक्रबार केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले विज्ञप्ति जारी गर्दै कार्यतालिकामा हेरफेर गरिएको जानकारी दिए । उनकाअनुसार अब क्रियाशील सदस्यताको विवाद मिल्न बाँकी जिल्लामा सदस्यताको विवाद समाधान गरी ५ असोजमा वडा अधिवेशन हुनेछ ।

त्यस्तै, आइतबारका लागि तोकिएको पालिका तहको अधिवेशन ९ असोजका लागि सारिएको छ । त्यस्तै, १२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ ।

कांग्रेसले यसअघि २७ भदौ अर्थात् आइतबारका लागि पालिका अधिवेशनको मिति तोकेको थियो । तर, शुक्रबारसम्म पनि वडा अधिवेशन नै सकिएको छैन । भदौ १८ मै ७७ वटै जिल्लामा वडा अधिवेशन गर्ने कार्यतालिका थियो । तर, २० वटा जिल्लामा क्रियाशील सदस्यताको विवाद अझै पनि सुल्झिएको छैन ।

पौडेल समूहले ६७४३ वटै वडामा एकैदिन अधिवेशन हुने वातावरण बनाउन आन्दोलन नै गरेको थियो । तर, सदस्यताको विवाद समयमै नमिलेका कारण पार्टीको वैधानिकता जोगाउन भन्दै नेताहरुले १८ भदौमै वडा अधिवेशन सुरु गर्नैपर्ने बाध्यतामा वडा अधिवेशन सुरु भयो । केन्द्रीय निर्वाचन समितिले ५७ जिल्लाको मतदाता नामावली प्रकाशन गरी अधिवेशनको प्रक्रिया अघि बढाएको छ । तीमध्ये कतिपय जिल्लामा अहिले पनि अधिवेशन भइसकेको छैन ।

यसअघि प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते गर्ने कार्यतालिका थियो । प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन भने यसअघि घोषित मितिमै हुनेछ । कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ मा गर्ने कार्यतालिका छ ।