Monday, 20, September, 2021 info@saipalnews.com

मानसिक स्वास्थ्य प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

कास्की २५ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोशिश संस्थाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले यसको निराकरणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो ।

सबैको सहकार्यमा आत्महत्या न्यूनीकरणका लागि बहुक्षेत्रीय कार्ययोजनाको निर्णय गरी अविलम्ब कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै उहाँले जीवनलाई जोगाउँदै सुनौलो भविश्यको निर्माण गर्नुपर्छ भन्नेमा आफ्नो व्यक्तिगत एवं मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले व्यक्तिलाई बदल्नेभन्दा पनि समाजमा रहेका नकारात्मक सोच र अभ्यासलाई परिवर्तन गर्न आवश्यक रहेकामा जोड दिनुभयो । आर्थिकरूपमा सम्पन्न भए पनि मानसिकरूपमा कमजोर भएपछि मानिस आत्महत्या गर्न बाध्य भएको पाइएको उहाँको भनाइ छ ।

प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले मानसिक स्वास्थ्यका बारेमा सरकार संवेदनशील रहेको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले आफू आत्महत्याको प्रयासपछि बँचेर नयाँ जीवन पाएको अनुभव सुनाउनुभयो । मानसिक समस्या रोग नभई मनको समस्या भएका कारण मनोसामाजिक परामर्शले समस्यालाई कम गर्न सकिने उहाँको भनाइ छ ।