Saturday, 16, October, 2021 info@saipalnews.com

के थियो बुङ्कोट विद्रोह : जंगबहादुरलाई मार्न खोज्ने लखन थापा,कसरी मारिए !

काठमाडौं १ असोज । जंगबहादुर राणाको तानाशाही शासनविरुद्ध जनसमर्थनसहितको संगठित सैन्य विद्रोहको नेतृत्व गरेका लखन थापा बल्लतल्ल नेपालका प्रथम शहीद त बने तर, उनीबारे जान्न बाँकी थुप्रै कुरा खोतल्नेतर्फ राज्य उदासिन देखिन्छ।

गोरखाको बुङ्कोट हाल लखन थापा गाउँपालिका–७ का लखन थापा मगर र उनका अनुयायीहरूले ‘जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने’ संकल्प गरेका थिए। समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार, शोषण, दमन समाप्त गर्नु उनीहरूको लक्ष्य थियो। विद्रोहीहरू न्याय र समानताको आधारमा चल्ने शासन व्यवस्थाका पक्षपाती थिए।

१९३३ सालमा नेपाली जनताको स्वतन्त्रता र मुक्तिका खातिर १५०० जनाको सशस्त्र फौज खडा गरी उनीहरूले राज्यसत्तालाई चुनौती दिए। सरकारी सेनाले त्यसको दमन गरी अन्ततः मुख्य आरोपी लखन थापा र उनका ६ जना सहयोद्धाहरूलाई बुङ्कोटमै झुन्ड्याएर मारे ।

त्यस विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, सशस्त्र तयारी, भारी जनसमर्थन र स्थानीय सहभागिताजस्ता सबल पक्षहरू थिए। यिनै कारणले जनस्तरबाट एकीकृत, संगठित बुङ्कोटको विद्रोह अन्य विद्रोहको तुलनामा बलियो मानिन्छ।

लखन थापा पुरानो गोरख गणका सैनिक थिए। उनको सैन्य दर्जा के थियो त ? उनीसँगै विद्रोहमा को–को मारिए रु उनीहरूको शहादत कहिले भयो रु यी कुरा हालसम्म अनुत्तरित रहेकोले प्राप्त तथ्यका आधारमा ती जिज्ञासाहरूलाई मेटाउने जमर्को गरिएको छ।

लखनउ विद्रोहका सेना

लखनऊ लगायतका भारतीय शहरहरूमा सन् १८५७ को विद्रोह दमन गर्न नेपालबाट खटिएको पुरानो गोरख गणमा लखन थापा र जयसिंह चुमी पनि सामेल थिए। उनीहरूले भारतीय स्वतन्त्रताको निम्ति संघर्षरत योद्धाहरू उपर भएको निर्मम अत्याचार आफ्नै आँखाले देखे। नुनको सोझो गर्न बाध्य गोर्खाली सैनिकहरूले अमानवीय ढंगले विद्रोह शान्त पारी अंग्रेजलाई ठूलो उपकार गरे तर ती सैनिकहरू भित्रभित्रै क्षुब्ध थिए।

धेरैजसो लेखकहरूले १९११ सालमा पुरानो गोरख गणमा भर्ति भई लखन कप्तान दर्जामा पुग्न सफल भएको उल्लेख गरेका छन्। उनको सैनिक दर्जाबारे यकीन गर्न नसकिए पनि नेपालको सैनिक इतिहास, भाग–२ (२०६५स् ३६४) मा उल्लेख भए अनुसार उनी तत्कालीन युवराज त्रैलोक्यविक्रमका आठपहरिया अंगरक्षक थिए। राजा सुरेन्द्र युवराज हुँदा जंगबहादुर पनि अंगरक्षक नै थिए र दर्जाले उनी सेनाका कप्तान थिए। यसबाट युवराजका अंगरक्षक कम्तीमा सैन्य अधिकृत थिए भनी अनुमान गर्न गाह्रो छैन।

यदी त्यसो नहुँदो हो त लखन थापाको कमाण्डमा त्यति ठूलो सशस्त्र समूह कसरी अधिनस्थ रहन्थे ? ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४) लेखक पद्‌मजंग राणाले विद्रोहीहरूको समूह १५०० जनाको बताए पनि प्रमोदशमशेर राणाले तिनीहरूको संख्या २००० रहेको बताएका छन्।

सैन्य संरचना हेर्दा सरदर १०० जनाको एक कम्पनी, ४/५ कम्पनीको एक गण र दुई गणको एक ब्रिगेड हुने अवस्था अहिले पनि छ। त्यसबखतको संरचनामा ५० जवानको एक कम्पनी हुन्थ्यो। संख्याको आधारमा हेर्दा विद्रोहीहरूले गठन गरेको सैन्यबल दुई ब्रिगेडको हैसियतमा देखिन्छ। जयसिंह चुमीलाई जर्नेल दर्जा दिइएको देखिँदा निजको तुलनामा लखन थापाको हैसियत माथिल्लो स्तरको हुनुपर्दछ भनी सहजै अड्कल गर्न सकिन्छ।

जंगबहादुरको मृत्युदण्ड उर्दी

१९३२ फागुन २६ मा ससाना बन्दुक र तरवारले सुसज्जित ठूलो संख्यामा भोटेहरू लखनलाई साथ दिन आएका थिए। उनीहरू पश्चिमतिर जंगबहादुरसँग मिल्ने बहानाले निस्केका थिए तर खास मनसाय चाँहि जंगबहादुरकै जीवन माथि धावा बोल्नु थियो ।

प्रस्तुत विवरणले विद्रोहीहरूले प्रशस्तै घरेलु हातहतियार भेला गरेको तथ्यलाई प्रष्ट्याउँछ। संघर्षमा प्रयोग भएका तत्कालीन हातहतियारहरू केही राज्यले जफत गरेको र केही गाउँमा रहेको पाइएको छ। त्यसबेलाका खुँडा र तरवारहरू स्थानीय गाउँलेहरूले संरक्षण गरेका छन्।

रेग्मी रिसर्च प्रालिबाट प्रकाशित १९३२ चैत्र सुदी १ को सैन्य प्रतिवेदन अनुसार, पाल्पाका मेजर कप्तान शमशेरजंग थापा क्षेत्री, सुब्बा वीरमानजंग थापा क्षेत्री र सुवेदार बदलसिंह बस्नेतले लखन थापाको घर र विद्रोहको सशस्त्र तयारीबारे प्रसादसिंह थापा, खड्ग थापालगायतका व्यक्तिहरूमार्फत् थाहा पाए। यो सूचना पाउनासाथ ती सैनिकहरूले छापा मारी अजपसिंह थापा मगरसहित केही मानिसहरूलाई पक्रे र पक्राउ पर्नेहरूले निम्न बमोजिमको बयान दिएको प्रतिवेदनमा रेग्मी, उही उल्लेख गरिएको छः

लखन थापाले हामीमध्ये केहीलाई जर्नेल र केहीलाई कर्णेल एवम् कप्तानमा भर्ना गर्ने वचन दिएका छन्। उनले जहरे जयसिंह चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल दर्जा दिएका छन्। उनले प्रधानमन्त्री जंगको हत्या हुने, शाहज्यादा उपेन्द्रविक्रम राजा बन्ने र आफू चाहिँ उपेन्द्रविक्रमका उत्तराधिकारी हुने घोषणा गरेका छन्। उनले तार्कु वा मनाङबेसी लमजुङमा जंगबहादुरको मौका छोपेर हत्या गरिने बताएका छन्। यदी यो सम्भव नभए तिब्बत छिर्ने र तिब्बती सहयोग समेटी लक्ष्य मुताविक समर्थन जुटेको खण्डमा राजा हुनेछन्।

मेजर कप्तान शमशेरजंग थापा क्षेत्री लगायतले माथि उल्लेखित सम्पूर्ण विवरण प्रधानमन्त्री जंगबहादुर समक्ष प्रस्तुत गरे। प्रधानमन्त्रीले कर्णेल टेकबहादुर राणाको नेतृत्वमा उनकै मातहत पाल्पामा रहेका सैन्य टुकडी, आवश्यक भए, मिलाई लखन थापा र उनका समर्थकहरूलाई पक्रन आदेश गरे।

यदी तिनीहरू पाल्पा हुँदै गएमा पक्रने कार्यमा मद्दत गर्न मेजर कप्तान शमशेरजंग थापा क्षेत्रीलाई आदेश दिए र तिनीहरूलाई पक्रेर काठमाडौं पठाउन एवम् सो विषयमा इन्द्रचोकको प्रहरी थानामार्फत् आफूलाई खबर गर्न अह्राए। यस अतिरिक्त, आफ्नो भ्रमणको क्रममा यदी उनी पाल्पा पुगेछन् भने प्रधानमन्त्री जंगबहादुरको आवश्यक सुरक्षा व्यवस्था मिलाउने र हत्याबाट जोगाउनेसम्मको आदेश पनि उनैलाई दिइयो रेग्मी, उही ।

त्यसबेला जंगबहादुर देशको पश्चिमी क्षेत्र वनवासा शिविर मा थिए र त्यहीँबाट उनले यो आदेश गरेका थिए। आदेश पाई खटिएका सेनाहरूलाई त्यहाँबाट पाल्पा हुँदै गोरखा आइपुग्न निकै दिन लाग्यो होला। उता जंगबहादुरका सम्बन्धमा प्रमोदशमशेरले ‘राणाशासनको वृत्तान्त’मा जनाए अनुसार ‘युवराजको सवारी ब्रिटिस भारततर्फ फिर्ती हुनासाथ ठाउँ–ठाउँमा घोडाहरूको डाँक राखी सकेसम्म छोटो बाटो प्रयोग गरी ३० मार्च १८७६ ई.का दिन सदर आइपुगे’ (२०७०ः८८) । यो हेर्दा अनुसार जंगबहादुर १९३२ चैत्र १५ १६ तिर काठमाडौं फर्केको देखिन्छ ।

१९३२ चैत्र सुदी १ को पक्राउ गर्ने आदेशसहितको प्रतिवेदनमा समेटिएको व्यहोरा हेर्दा लखन थापा सँगसँगै उनका सक्रिय समर्थकको रूपमा जहरे जयसिंह चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङ र अजपसिंह थापा मगर देखा परेका छन्। अतः उनीहरूलाई नै मुख्य दोषी ठहर्‍याई बुङ्कोटमा झुन्ड्याएर मारिएको निष्कर्ष निकाल्न सकिन्छ।

त्यसबेला पक्राउ पर्ने करीब ५० जना रहेको, तीमध्ये सक्रिय देखिएका १२ जनालाई काठमाडौं चलान गरिएको, काठमाडौंमा पाँच जनालाई सामान्य समर्थक मात्र ठहरी माफी दिइएको कतिपय लेखकहरूले उल्लेख गरेका छन्। बाँकी ७ जनाको हकमा स्वयम् पद्‌‌मजंग राणाले नै लखन थापा र उनका ६ जना कट्टर समर्थक एवम् सहयोगीलाई मृत्युदण्ड दिइएको रेग्मी, उही स्पष्ट पारेका छन्। यो घटना हुँदा पद्‌मजंग राणा १९ वर्षका तन्नेरी थिए र उनले तत्कालीन घटनालाई राम्ररी बुझेर नै कलम चलाएका थिए भन्न सकिन्छ।

बुङ्कोट क्षेत्रको अध्ययन गर्दा मृतक सबैको नामावली स्थानीयहरूको स्मृतिमा नरहे पनि लखन थापा, जयसिंह चुमी, अजपसिंह र अच्छामी मगर उच्चारण भइरहने नाम हुन्। यसबाहेक मारिनेहरूका सन्तति त्यहाँ नभएको अन्यत्र पलायन भएको वा चियोचर्चा हुन छाडेकोले स्थानीयहरूको स्मृतिबाट हराएको हुनुपर्छ।

इतिहासकार त्रिरत्न मानन्धरले ‘नेपाल देशको इतिहास, प्राचीन नेपाल’ संख्या २७, २०३१ वैशाख लाई उद्धृत गर्दै “भाषा वंशावली अनुसार उनीहरूको सर्वस्व पनि गरिएको थियो” (२०७७ः १५७) भन्ने उल्लेख गरेका छन्। तत्कालीन समयमा राज्यले नै उठीवास गराएकोले सबै शहीद परिवार बुङ्कोटमा नभेटिएको मान्न सकिन्छ। त्यसबखत मारिने लखन, जयसिंह, विराज, जुठ्या, जीतमान, अजपसिंह र अच्छामी अच्छामी नाम नभई मगरहरूको एक वंश वा उपथर हो, शायद ती विद्रोही यही उपनामले परिचित थिए नै रहेको यकिन गर्न सकिन्छ।

प्रा.डा.तुलसीराम वैद्यले गोरखकालीलाई चढाइएको ठूलो घण्टामा निम्न व्यहोरा अंकित भएको उल्लेख प्रथम सहिद, २०६७, वर्ष १.अंक १, पृ.२७ गरेका छन् ।  स्वस्ति श्री सम्वत् १९३३ साल मिति माघ सुदी ८ रोज ४ मा गोर्खा शहरका घरघर छोटा वडा गैह्रले श्री श्री श्री परमेश्वरी आदि कालिका देवी महामाई प्रिति गरि चढाएको घन्टा हो मार्फत मेजर कप्तान शम्सेरजङ्ग थापा क्षतृ सुब्बा विरमानजङ्ग थापा क्षतृका पाला महा शुभम् ।

वैद्यका अनुसार– जंगबहादुरले लखन थापालाई झुन्ड्याइसकेपछि गोरखाका जनतालाई हात लिन वा शान्त पार्न पुरस्कार स्वरूप केही रूपैयाँ दिएका थिए। गोरखाका जनताले चाहिँ सो रूपैयाँले लखन थापाकै सम्झनामा उक्त घण्टा बनाउन लगाई देवीलाई चढाएका हुन् भन्ने मास्टर दण्डपाणि अर्यालको भनाइ छ। यो अभिलेखको व्यहोरा, साल मिति हेर्दा उक्त कुरा सत्य हो कि भन्ने देखिन्छ। तुलसीराम वैद्य र धनबज्र बज्राचार्य सं, गोरखाको ऐतिहासिक सामाग्री, २०२९, काठमाडौं, नेपाल अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय, पृ.३२–३३०। उक्त घण्टा गोरखकाली मन्दिर परिसरमा अहिले पनि सुरक्षित छ।

१९३२ चैत्र १ को उल्लिखित सैनिक प्रतिवेदन अनुसार पनि विद्रोह दमन गर्ने क्रममा खटिने मेजर कप्तान शमशेरजंग थापा क्षेत्री र सुब्बा वीरमानजंग थापा क्षेत्रीकै नाम उल्लेख हुनुले घण्टाबारे वैद्यको दाबी सही ठहरिन्छ। अतः घण्टामा अंकित मिति १९३३ माघ ८ भन्दा पहिले नै विद्रोहीहरू मारिसकिएको छर्लङ्ग हुन्छ।

त्यस षड्यन्त्रकारी मगरको गोरखा नजिकैको घर वरिपरिबाट घेरी उनका सबै मानिसहरूलाई फलामे साङ्लाले बाँधियो र तिनले भेला गरेका सबै हतियार जफत गरियो अनि तिनीहरूलाई थापाथलीतर्फ लगियो। उनीहरूलाई थुनामै राखी सत्यतथ्यको छानबिन गरियो। लखन थापा एवम् उनका मुख्य समर्थकहरूलाई जेलमा राखियो र बाँकीलाई भने मुक्त गरियो। पछि १९३३ वि.सं. को पौष महीनामा लखन थापा र उनका मुख्य समर्थकहरूलाई उनकै घर अगाडिको रुखमा झुन्ड्याइयो। उनको घर र मन्दिरलाई ध्वस्त पारी मैदान बनाइयो (नेपाल, १९८३, ४५–४६) ।

पुरुषोत्तमशमसेर जबरा लिखित ‘लुकेछिपेका प्रतिभाहरू’का अनुसार, लखन थापालाई गोर्खामै उनकै घर अगाडिको रुखमा वि।सं।१९३३ पोखी पौष मा झुन्ड्याई मारे (२०६५ः १८)।  शिवलाल थापाका अनुसार– “पौष महीनाको पहिलो पञ्चमी तिथिको दिनलाई हालसम्म पनि लखन थापाको स्मृति दिवसको रूपमा मनाउँदै आएका छन्। सोही तिथिमा उनलाई झुन्ड्याइएको हुनुपर्छ भन्ने तर्क पनि अगाडि आएको छ” (२०५२-१८

यस सन्दर्भमा केही तथ्य गाउँमा पनि भेटिएको छ। प्रत्येक वर्ष पुसको पहिलो पञ्चमीमा स्थानीयहरूले भँयरी पूजा गर्ने चलन छ। यो अकालमा मर्नेहरूको स्मृतिमा गरिने एक प्रकारको पितृपूजा हो, जसमा स्थानीयहरू वर्षौंदेखि सामेल हुँदै आएका छन्। पूजामा बयोबृद्ध रत्नसिंह चुमी मगरले अग्रजको भूमिका खेल्दै आएका छन्। उनी तत्कालीन शहीद जयसिंह चुमीका पाँचौं पुस्ताका सन्तति हुन्। तत्कालीन हिंसापछि नै शहीदहरूको आत्माको शान्तिको लागि पूजाको शुरूआत गरिएको बताइन्छ।

गोरखाका पूर्व सैनिक लखन थापा प्रधानमन्त्री जंगबहादुरलाई हत्या गरी देशको सुनौलो भविष्य कोर्न चाहन्थे। तर, विद्रोहको तयारी गरिरहेका उनलाई

डा.हर्षबहादुर बुढामगरका अनुसार– केही उत्साही नवयुवकहरूको सकृयतामा वि.सं.२०४८ पौष १० गते गोरखामा शहीद लखन थापाको पुण्य स्मृतिमा ‘अमरत्व दिवस’ मनाइएको थियो’ (२०४९ः२२९–३०) र सो दिन पञ्चमी तिथि नै परेको देखिन्छ।

सूर्य पञ्चाङ अनुसार– वि।सं।१९३३ पौष महीनाको पहिलो पञ्चमी सोही महीनाको ७ गते (ई.संं.१८७६ डिसेम्वर २१ बुधवार परेको, सो दिन बिहान ६ः५७ देखि २४ घण्टासम्म लगातार पञ्चमी तिथि कायम रहेको देखाउँछ। माथि उल्लिखित आधारहरू मनन् गर्दा बुङ्कोटको ऐतिहासिक घटना वि.सं. १९३३ पौष ७ का दिन भएको थियो भनी स्पष्ट हुन्छ।

विद्रोहको मुहान

जंगबहादुरले वि.सं.१९१० को मुलुकी ऐनमार्फत् नेपाली समाजमा जातिपाति, छुवाछूतजस्ता कुरीति र अन्धविश्वास व्याप्त गराए। जंगबहादुरको निरंकुशता र स्वेच्छाचारिताविरुद्ध लखनले सशक्त विरोध गरे, राज्यविरुद्ध जनस्तरबाट व्यवस्थित, संगठित रूपले लड्न सशस्त्र सेना गठन गरी राज्यलाई खुलेआम चुनौती दिए। शासक वर्गलाई औंला ठड्याउँदा पनि ज्यान जाने युगमा लखनले देखाएको साहस सामान्य थिएन। ईश्वरप्रति पूर्ण आस्था राख्ने समाजलाई जागरुक बनाउन मनकामनाको निर्देशन अनुसार विद्रोह गरेको भन्ने लखनको उद्घोष नै आन्दोलनको निम्ति ऊर्जा थियो र मान्छे बटुल्ने प्रभावकारी माध्यम बन्यो।

बुङ्कोट विद्रोह नेपालको राजनीतिक इतिहासमा जनअधिकारको लागि उठेको प्रथम विद्रोह थियो। यसर्थ यो विद्रोहलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको मुहान पनि मान्न सकिन्छ। तर, शहीदहरूको त्याग, तपस्या र बलिदानको उचित मूल्यांकन राज्यले अझैं गर्न सकेको देखिँदैन। यो सामग्री हिमालखबरमा २०७७ साल पुस १८ गते प्रकासित भएको थियो । सोही सामग्री हिमालखबरबाट साभार लिएको हो ।