Saturday, 16, October, 2021 info@saipalnews.com

आज पनि संसद अवरुद्ध गर्ने एमालेको चेतावनी

काठमाडौं ४ असोज । सोमबार आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा छ । समयमा बजेट पारित नहुँदा सरकारले खर्च गर्न नसक्ने अवस्था सिर्जना भएकाले कर्मचारीलाई तलब खुवाउनकै लागि भए पनि आज बजेट पास गर्नैपर्ने बाध्यता सरकारलाई छ ।

प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ बैठक अवरोध गरिसकेको एमालेले सोमबारको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज असोज ४ गते बस्ने गरी प्रतिनिधिसभा बैठक डाके पनि पार्टी विभाजन गर्न सभामुखले सघाएको भन्दै प्रतिपक्षी एमालेले सदन अवरुद्ध पार्दै आएको हो ।

कर्मचारीलाई तलब खुवाउन आज संसदबाट बजेट पारित गर्नैपर्ने सरकारको बाध्यता छ । माग पूरा नभएसम्म अवरोध जारी राख्ने एमालेको तयारी छ । आजको संसद बैठकमा दुबै पक्षको घम्साघम्सी हुने संकेत देखिएको छ ।

गत भदौ २५ गते प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती ओली सरकारले ल्याएको बजेटमाथि प्रतिस्थापन विधेयकमार्फत संशोधित बजेट प्रस्तुत गरेका थिए । आज सो विधेयक अघि बढाउने विषय प्रतिनिधि सभाको कार्यसूचीमा पर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिपक्षी एमालेले सभामुखसँग गरेको माग यथावत रहेको र त्यसलाई पूरा गर्ने सन्दर्भमा कुनै छलफल नभएकाले आज पनि बैठक अवरुद्ध हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमाले नेता भट्टराईले भने, ‘हाम्रा मुद्दाहरु यथावत छन्, हामीले चलाइरहेको विरोध अभियानलाई निरन्तरता दिन्छौँ । सभामुखसँग हाम्रो जुन मुद्दा छ, त्यो छिनोफानो नभएसम्म हाम्रो कसरी सहमति हुन सक्छ र ?