Saturday, 16, October, 2021 info@saipalnews.com

जनता आवास कार्यक्रम : घर नहुनेले पाएनन्, हुनेले बनाए प्रयोगविहीन

जुम्ला  १२ असोज । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत बनाइएका घरहरू  प्रयोगविहीन बनेका छन् ।  जुम्लाको सिजा गाउँपालिका  जनता आवास  कार्याक्रमबाट बनाइएका घर प्रयोगविहीन भएका हुन् ।

सरकारले विपन्न दलितहरूको सुरक्षित आवासको लागि भनेर  कार्यक्रम लागु गरे पनि पहुँचवालाको पोल्टोमा पर्दा घरहरू प्रयोगविहीन बनेका छन् । न्युन आय भएका नागरिकका लागि भनेर सरकारले घर बनाउन तीन लाख ५० हजार रुपैयाँ पाउने व्यवस्था गरेको थियो । उक्त रकम निर्माण समितिको नामा रहेको खातामा चार किस्तामा उपलव्ध हुने प्रवधान थियो ।

टाठाबाठाहरूले विपन्नलाई भन्दा पनि आफ्न्त र आफ्नो पाटीको मान्छेलाई कार्यक्रममा छानोट गरेपछि निर्माण भएका घरहरू प्रयोगमा नआएको सिजा गाउपालिका ३ का बलबहादुर सार्कीले बताए । आफू विपन्न परिवार भए पनि जनता आवास कार्यक्रमका लागि छनोट नभएको उनले गुनासो पोखे । आफूसँग भएको पुरोना घर भत्किन लागेकोले छिमेकीको घरमा एक कोठा मागेर बसेको बलबहादुरले सुनाए ।

उनले भने, हाम्रो पहुँच पुग्दैन, विपन्नको नाम बेचेर कार्यक्रम लागुहुन्छ तर पहुँचवालाले मात्रै  पाउछन् । आफूसँग घर भएकाले पनि जनता आवास कार्यक्रमअन्तर्गत पैसा पचाउन घर बनाएको र अहिले प्रयोगविहीन भएको सार्कीले सुनाए । सिजा(३ कै नन्दबहादुर नेपालीले जनता आवास कार्यक्रममार्फत घर बनाएका छन् । उनको र्को गाउँमा पनि घर छ तर उक्त घर प्रयोगविहीन छ ।

जनता आवास कार्यक्रमबाट बनाएको घर प्रयोगविहीन भएको नन्दबहादुरको मात्रै हैन उक्त्र वडामा बनेका १६ वटा घर तीन वर्षदेखि प्रयोगविहीन छन् । सबै घर तीन वर्षअघि सहरी विकास तथा भवन निर्माण कार्यालयअन्तर्गत जनता आवासकार्यक्रम मार्फत निर्माण भएका हुन् । उक्त कार्यक्रमअन्तर्गत दुईकोठे घर निर्माण गरिएको थियो ।

हाल यो कार्यक्रम पुर्वधार विकास कार्यलयले हेर्ने  गरेको छ । सरकारको लगानीमा बनेका घर प्रयोगविहीन  हुँदा स्थानीय सरकार भने बेखबर छ । सिजा गाउँपालिका अध्यक्ष देवलसिहं रावलले पनि नराकोटको गाउँमा घर भएका नागरिकले उक्त्र कार्यक्रम पाएकाले घर प्रयोगविहीन भएको बताए । उनले गाउँमा घर भएकाले  खोलाको नजिकै  बनाइएका नयाँ घरमा भुतप्रेत लाग्छ भन्दै नबसेको जानकारी दिए । पालिकाले भने प्रयोग गर्न दबाब दिएको बताए ।

भौतिक पूर्वधार विकास कार्यालय जुम्लाले गत वर्ष  उक्त कार्यक्रमअन्तर्गत दुई सय ५० घर निर्माण सम्पन्न भएको जनाएको छ । कार्यालय प्रमुख रुपबहादुर रावलले भने आर्थिक स्थिति कमजोर भएकाहरू नै जनता आवास निर्माणका लागि छनोटमा परेका बताए । उनले  भने, पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाएका सबै घर प्रयोगमा छन् । यसअघि बनेका घर प्रयोगविहीन कसरी भए त्यो जिम्मेवारी हाम्रो कार्यालयलाई थिएन । न्युज कारखाना ।