Saturday, 16, October, 2021 info@saipalnews.com

मुगु,अछाम,कास्कीका दुर्घटनाका मृतकका परिवारलाई क्षतीपूर्ती दिन प्रचण्डको आग्रह

काठमाडौं २७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग माग गरेका छन् । बुधबार बिहान शोक वक्तव्य जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डले मुगु,कास्की,अछाम लगायत जिल्लामा भएका सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचार गर्ने सरकारसँग आग्रह गरेका हुन् ।

साथै उनले सडक घटना न्यूनीकरणका लागि विशेष ध्यान पुर्याउन राज्यलाई आग्रह समेत गरेका छन् । सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको देखिन्छ । चाडपर्वहरूमा क्षमताभन्दा बढी यात्रुहरूको ओसारपसारले पनि यस्ता घटना बढ्न पुगेका छन्,शोक वक्तव्यमा उल्लेख छ ।

विजया दशमीको मुखमा देशका विभिन्न भागमा भएका सडक दुर्घटनाका खबरले मर्माहत बनाएको प्रचण्डले बताए । विजया दशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ ।

साथै, कास्की, अछाम लगायत  दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु, शोक वक्तव्यमा भनिएको छ,ुदुर्घटनामा परी घाइते भएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।