Monday, 29, November, 2021 info@saipalnews.com

चैत ५ गतेभित्र स्थानीय चुनाव गर्न सिफारिस

काठमाडौं ८ कात्तिक । निर्वाचन आयोगले चैत पाँच गतेभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । सोमबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर चैत पाँच गतेभित्र निर्वाचन गर्न सिफारिस गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा निर्वाचन भएको सात दिनदेखि गणना गर्दा कार्यकाल जेठ पाँच गते सकिने देखिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलले भने,‘कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने व्यवस्था छ ।सोही व्यवस्था अुनसार जेठ पाँच अघि नै चुनाव गर्नुपर्ने भएकाले सरकारलाई सिफारिस गरिएको हो । यसबारे सरकारले उपयुक्त निर्णय गर्ने आश्वासन छ ।

यसैबीच स्थानीय तहका रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने भएको छ । स्थानीय तहको कार्यकाल धेरै बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने आयोगले प्रवक्ता शर्माको भनाइ छ ।

तर,प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ । जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताएको प्रवक्ता पौडेलले बताए । आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।