Monday, 29, November, 2021 info@saipalnews.com

आबुधाबी डायलगमा मन्त्री श्रेष्ठको पाँच प्रस्ताव

काठमाडौं १० कात्तिक । संयुक्त अरब इमिरेट्स यूएईमा सोमबारदेखि जारी छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गरेका छन् ।

१६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरू सहभागी आबुधाबी डायलगमा मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्नेलगायत प्रस्ताव मन्त्री श्रेष्ठले गरेका छन् ।

त्यस्तै न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान( बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसिआर परीक्षण, निःशुल्क क्वारेन्टिन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि उनको प्रस्ताव थियो ।

आबुधाबी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका ६ मुलुक र मलेसियाका श्रममन्त्रीहरू संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो । आबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ । १२ गतेसम्म सञ्चालन हुने  डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागी छन् ।