Monday, 29, November, 2021 info@saipalnews.com

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो : शम्भु थापा

काठमाडौं १ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको प्रतिक्रिया दिएका छन् । बुधवार नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा भएको धर्ना कार्यक्रमपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् । उनले अब सरकार र प्रतिपक्षले नयाँ नियुक्ति गर्नुपर्ने भन्दै यसैका लागि आफूहरुले दवाव दिइरहेको बताए ।

आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो’, उनले भने, ‘तपाईं र मैले खाली गरिसक्यौ, खाली अर्को मनोनयन गरेका छैनन् । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।

वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताए । केही न्यायाधीशहरु इजलास बस्न लागेकोतर्फ इंकित गर्दै उनले न्यायाधीशहरूले मात्रै अदालत चलाउन नसक्ने बताए । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उनले गरे ।

उनले आफूहरु भ्रष्टाचारमा मुछिएकाको पछि लागेर बहस नगर्ने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए । उनले भने,  ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ । त्यो ऐतिहासिक हुन्छ । भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ । भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित ।’

उनले आफूहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै गर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरुलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरुले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानविन गर्न चुनौती दिए । उनले सिरकभित्र टाउको नलुकाइ बारको आन्दोलनमा ऐक्यवद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरुलाई आग्रह गरे ।

थापाले नेपाल बार एसोसिएसनलाई नसोधिकन कुनैपनि नियुक्ति नगर्न पनि न्याय परिषद्का सदस्यहरुलाई खबरदारी गरे । यदि  बारको सहमतिबिना नियुक्ती गरेमा न्याय परिषद्बाट फिर्ता बोलाउने अधिकार पनि बारसँग रहेको उनले जिकिर गरे ।

उनले राजनीतिक दलहरुले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने भन्ने स्पष्ट पार्नुपर्ने बताए । नेपाल बार एसोसिएसनले आज ९बुधवार० पनि सर्वोच्च अदालतमा धर्ना दिएको थियो  । बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने बैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए ।