Wednesday, 19, January, 2022 info@saipalnews.com

प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग लगाउने तयारी

काठमाडौं १७ मसिंर । काँग्रेसका सांसद राधेश्याम अधिकारी र माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध  महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।  काँग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने तर्क समेत गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन ढिलाई गर्न हुन्न भन्ने पक्षमा आफूले सुरुदेखि नै अडान राख्दै आएको स्मरण गराए । वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्युत गर्न सकिने आधार पर्याप्त रहेको दावी समेत गरे ।

यस्तै माओवादी केन्द्रका सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसिर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताए । उनले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानविनका लागि ११ सदस्यीय संसदीय छानविन समिति गठन हुने जानकारी समेत बताए । दलहरुले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको सांसद बिडारीको भनाई थियो ।