Saturday, 21, May, 2022 info@saipalnews.com

प्रदेश १ सरकारले थप्यो आठ जना मन्त्री

काठमाडौं २३ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्वको मन्त्रिमण्डल १४ सदस्यीय बनेको छ । थप आठ जना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको सङ्ख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।

आज नेपाली काङ्ग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना थप भएका छन् ।

प्रदेश १ को मन्त्रिमण्डलमा काङ्गेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् । थापाले वन, सरावगीले उद्योग, श्रम,हाङमाङले भूमि तथा  सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् । राईले सामाजिक विकास मन्त्री बनेका छन् ।

हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् । लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री बन्ने भएका छन् । राईले खानेपानी सिँचाई, तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् ।

जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहने छन् ।