Wednesday, 25, May, 2022 info@saipalnews.com

देउवा र प्रचण्डले मर्यादा विपरीत एमसिसीलाई लेखेको पत्र सार्वजनिक भएपछि व्यापक आलोचना

काठमाडौं २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीका अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ । पत्रमा देउवा र प्रचण्डले एमसिसी कार्यक्रमअन्तर्गत नेपाललाई उपलब्ध गर्ने ५० करोड अमेरिकी डलर आउँदो १६ फागुनसम्म संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएको हो ।

देउवा र प्रचण्डले उक्त पत्र एमसिसीको अध्यक्षलाई २९ सेप्टेम्बर २०२१ मा लेखेका थिए । पत्रमा देउवा र प्रचण्ड दुवैको हस्ताक्षर छ । देउवा र प्रचण्डले मर्यादा विपरीत एमसिसीलाई पत्र लेखेका कारण उनीहरुको व्यापक आलोचना भइरहेको हो ।

अर्थ मन्त्रालयका एक सह–सचिवले पठाउँदा हुने पत्र देशको कार्यकारी प्रमुख र अर्का पूर्व प्रधानमन्त्रीले संयुक्त रुपमा पठाउँदा देशको मान र प्रतिष्ठामा आँच आएको बुझाई छ । बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री आफैले पत्र नपठाएको भएको हुन्थ्यो । यो काम अर्थ मन्त्रालयमार्फत गराएको भए राम्रो हुन्थ्यो,’ माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले भने ।

संसदबाट एमसिसी सहयोग अनुमोदन गर्ने विषयलाई लिएर अहिले सत्तारुढ दलहरूभित्र मतभेद बढेको छ । सत्तारुढ दलमध्ये कांग्रेस एमसिसीलाई जस्ताकोतस्तै संसदबाट अनुमोदन गर्ने पक्षमा छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल सम्झौता केही संशोधन गर्नुपर्ने अडानमा छन् ।

एमसिसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभिन्नता बढीरहेका बेला देउवा र प्रचण्डले संयुक्त रुपमा लेखेको पत्र सार्वजनिक भएको हो । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसीको अध्यक्षलाई किन पत्र लेख्नुभयो बुझन् सकेको छैन ।

पूर्वराजदूत दिनेश भट्टराई पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले सिँधै एमसिसीको अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्न नहुनेमा सहमत छन् । पदमा बसेका व्यक्तिले भेटघाट र पत्र लेख्दा आफ्नो मर्यादाको ख्याल गर्नुपर्ने उनको भनाइ छ ।