Saturday, 21, May, 2022 info@saipalnews.com

जब समय बुझिन्छ,अनि नबुझ्ने संसारमा पुगिन्छ !

काठमाडौं २९ माघ । समय के हो ? कहाँ छ ? हामी घडीको सुईमा समय देख्छौँ।  सेकेन्ड, मिनेट, घण्टा, दिन, वर्ष, शताब्दी हुँदै समय बितेको देखिन्छ। यथार्थमा समय बित्दैन । यो त निश्चित स्थानको गतिको भ्रम मात्र हो। समयको गणना स्थानको सापेक्षतामा हुन्छ । स्थानको हिसाबकिताब समयले गरिरहन्छ। हेगेल्स,हब्स,प्लुटो, रुसो ,न्यूटन ,माक्स सबै समयका उपज  हुन।यिनले समय बताएनन् । यिनीहरूको दर्शनमा समयको व्याख्या छैन। तर यिनलाई समयले चिनेको छ। समयको आफ्नो गति छैन तर यसले सबैलाई गतिशील बनाउँछ। समयको आफ्नो परिचय छैन तर भूत भविष्य र वर्तमानमा यो देखिन्छ।

समय कठोर हुँदैन। मानिसले समयलाई कठोर बनाउँछ र भन्छ मेरो समय ठिक छैन । राम  कृष्ण, बुद्ध, यसु,महम्मद,साइले समय बुझे र आज चिरकाल सम्म बाँचेका छन् ।समयले फरक(फरक देखाउँछ। होचो, अग्लो, सानो,ठूलो ,फराकिलो देखाउँछ समयले । तर यो  दृश्य प्रतिको हाम्रो दृष्टि हो। समय होइन ।माया ,दया ,प्रेम, सद्भाव, सम्बन्ध, समयसँगै बन्दै जान्छन् ।

समयले यसलाई चिन्दैन, तर मान्छे समयको गणना गर्छ ।यि विषयलाई आफ्नै ठान्छ। हिटलर, नेपोलियन जन्मे। यही समय अहिले पनि छ। अहिले पनि समयले युद्ध गर्छ। जित्छ। हार्छ। इतिहास मनाउँछ। इतिहास देखिन्छ । समय आफ्नो नियममा हिँडिरहन्छ ।कसैलाई चिनाउँदैन ।जसले समयलाई चिन्छ ,उसलाई आफ्नो समय बताउँछ। र समयभित्रै ग्रहण गरिदिन्छ।

सेतो, रातो, पहेँलो, हरियो, बैगेनी रङ प्रकाशको कमाल हो। गतिको सापेक्ष दृश्य हो। यसमा समय निर्धारक छैन।अध्यारो र उज्यालो दुबैमा प्रकाश छ। प्रकाश निरपेक्ष केही पनि छैन। उज्यालो र अध्यारो भन्दा सुस्त छ समय ।समयले रङ्ग भर्दैन । बसन्त, गृष्म, बर्खा, शिशिर ऋतुहरु गतिबाट निश्चित हुन्छन। समयको ख्याल गर्दैनन्। हामीलाई ऋतुहरु समय लाग्छन् ।यी समय होइनन् ।यी त दृश्य मात्र हुन्। समयको भ्रम मात्र हो ।समयले मायाको परिकल्पना गर्छ तर ग्रहण गर्दैन। माया अर्थात् भौतिक वस्तुको आकर्षण।

गीता, बाइबल ,कुरान ,त्रिपिटक समयभन्दा भिन्न छन्। यिनले समय बताउँदैनन्।  गुरुत्वाकर्षणको नियम भित्र समय छैन। यी शास्त्रले गुरुत्वाकर्षणको नियमलाई स्वीकार्छन् । पदार्थ र विषयमा समय छैन । उज्यालो र अँध्यारो छैन समयमा। तर यसले संसारलाई भेद गरिरहन्छ । प्रकृतिलाई श्रृंगार गर्छ। हामी भन्छौं समयले बूढो बनायो। समय कहिल्यै बूढो हुँदैन। वृद्ध बालक र तरुनो हुँदैन। समय सधैंभरी यौवन छ। नित्य छ ।ताजा र सरल छ।

समय गतिको नाप मात्र हो। स्थिरताको माप हुँदैन। समय स्थिर हुन्छ। गतिशील वस्तुको सापेक्षमा समय गतिशील देखिन्छ। समयले भौतिक वस्तुको गति र दूरीको मापन मात्र गर्छ ।तर हामी यसैलाई समय मान्छौं। समय ठान्छौं ।रमाउँछौ ।आफुलाई भाग्यमानी मान्छौं ।सर्वस्व मान्छौं ।ग्रह समय संगै  बिलिन हुन्छन्।

ताराहरु हराउँछन्। ब्रह्माण्डमा ठुला विस्फोटहरु हुन्छन। तारामण्डलहरु जन्मन्छन्। मर्छन्। तर समय निरन्तर चलिरहन्छ ।सबै घटनाबाट तथस्ट छ समय। यथार्थमा समय आँफैमा निरपेक्ष छ।  हामी यसलाई सापेक्ष बनाउँछौं।  समयले सबै ठीक गर्छ  भन्छौ। तर न त समयले ठीक गर्छ न त समयले बनाउँछ। हामी बनाउँछौं। हामी बन्छौँ।

समयको लागि कुनै दृश्य फरक छैनन्। मानिस, पशु, प्राणी, जंगल,हावा ,पानी, माटो, ढुङ्गा, धनी, गरिब ,टाढा, नजिक छैन समयको लागि ।तर यी सबै वस्तुलाई समयले चिन्छ र आकर्षण गरिरहन्छ। पृथ्वी,चन्द्रमा,शुक्र ,शनि ग्रहहरुमा किन समय फरक फरक छ । यो गति फरक हो कि समय । स्थिरतालाई नापेर समय निकालिन्छ। समय आफै नापिदैन। समयले कसैलाई बनाउँदैन र बिगार्दैन पनि। मानिस भन्छ मेरो समय आउँछ। मानौँ उसले समय साँचेर राखेको छ।

कुनै पशु प्राणीले समय पर्खिदैन । मानिस समयको प्रतिक्षा गर्छ । हिसाबकिताब गर्छ र भन्छ आज भोलि र पर्सी। मान्छे समयको दास हो ।समयले मानिसलाई दास बनाई रहन्छ। समय अहिले छ । यत्तिखेरै छ। वर्तमानमा छ। तत्काल छ। आँखाको निमेषमा छ। विन्दुमा छ। यही बिन्दुको समग्र विस्तार समयको भ्रम हो। जो खुसी हुन ,सेवा गर्न, रमाउन ,उत्सव गर्न, समर्पित हुन ,एकाकार हुन, जान्दछ उसले समय बुझ्दछ ।त्यही  वैज्ञानिक, ज्ञानी,  त्यागी आविष्कारक हो जसले समय बुझेको छ। तत्काल बुझेको छ र खुशी छ। समर्पित छ । त्यो र यो नै समयको बरदान हो।

जब समय बुझिन्छ त्यसपछि दुरी समाप्त हुन्छ ।यात्रा सकिन्छ। आकर्षण आफैंभित्र समेटिन्छ। सृष्टि र प्रलयको ज्ञान  हुन्छ। अणु, परमाणु र शून्यताको ज्ञात हुन्छ। धर्म र अध्यात्म थाहा हुन्छ। ज्ञानी, आविष्कारक र वैज्ञानिक बुझिन्छ । जब समय बुझिन्छ ,ब्रह्माण्ड, तारामण्डल ,न्यूटन, आर्किमिडीज, आइन्स्टाइन, बुझिन्छ।  कुरान, बाइबल ,मन्दिर ,मस्जिद  कोटी देवता, ढुङ्गो पुजन, बुझिन्छ। प्रकृतिपूजक बुझिन्छ ।संस्कृति संस्कार बुझिन्छ। जब समय बुझिन्छ अनि नबुझ्ने संसारमा पुगिन्छ ।जहाँ समय र स्थानको भेद रहँदैन।