Sunday, 22, May, 2022 info@saipalnews.com

कांगेस,एमालेका ७ सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश,प्रचण्डले भने-माया गर्नेको संख्या बढ्दै छ

काठमाडौं २ वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिणाम देखिनेगरी स्थानीय चुनावमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले प्रचण्डले गठबन्धनमा सहभागी सबै दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित गराउन माओवादीले ध्यान दिनुपर्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै प्रचण्डले माओवादीलाई माया गर्नेको संख्या बढ्दै गएको बताएका हुन् । देशैभर माओवादीप्रति व्यापक जनलहर आएको उल्लेख गर्दै उनले आगामी दिन यो गति अझै तीव्र हुने प्रचण्डको भनाई छ ।

यस्तो छ महराले जारी गरेको प्रेस नोट

१.२०७९ वैशाख २ गते विहान नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको अनौपचारिक बैठक बस्यो । बैठकमा पार्टी अध्यक्ष क।पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेल सम्वन्धी छलफलका विषयमा जानकारी गराउनुभयो । बैठकमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिंगो पार्टी पङ्क्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भयो ।

२.स्थानीय चुनाव नजिकिएसँगै देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको छ । पूर्व स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्जहरुको बैठकमा माओवादी केन्द्रमा एकीकृत हुने प्रक्रियालाई व्यवस्थित गर्ने र प्रदेशहरूमा पनि पहल बढाउने विषयमा समेत छलफल भएको छ । पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्वन्धमा आवश्यक मापदण्ड बनाउने निर्णय भएको छ ।

३.२०७९ वैशाख २ गते दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित हुनुभएको छ । कार्यक्रममा नुवाकोटबाट नेकपा (एमाले) जिल्ला नेता क.माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, नेपाली काँग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एकप्रसाद पाण्डे लगायत २०० जना र नेकपा (एमाले)का रौतहट जिल्ला नेता क.सञ्जिवकुमार साहको नेतृत्वमा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी ५०० जना गरी ७०० जना माओवादी केन्द्रमा समाहित हुनुभएको छ ।

४.पार्टी अध्यक्ष कमरेड प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमरेड प्रचण्डले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा समाहित हुनुहुनेहरुलाई स्वागत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै देशैभर माओवादीप्रति व्यापक जनलहर आएको उल्लेख गर्नुहुँदै आगामी दिन यो गति अझै तीव्र हुने बताउनुभयो ।

२ वैशाख २०७९

कृष्ण बहादुर महरा

प्रवक्ता

नेकपा माओवादी केन्द्र