Wednesday, 25, May, 2022 info@saipalnews.com

एमाले अछामले सिफारिस गर्यो उम्मेदवारका नाम,सिफारिसमा को-को परे !

काठमाडौं ४ चैत  । नेकपा एमाले अछाम स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सिफारिसको प्रक्रिया थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमालेले पालिकाबाट उम्मेदवारको नाम सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएको छ ।

यस्तै सर्वसम्मतमा एमालेले ढकारी गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्षमा पुराना नेता धर्मबहादुर शाही र युवा नेतृ मायादेवी बुढालाई उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेको छ ।

कमलबजार नगरपालिकामा एमालेबाट मेयर पदमा कटक साउद सर्वसम्मत सिफारिस भएमा छन् । तुर्माखाद गाउँपालिका कमिटीले अध्यक्षका लागि युवा नेता डम्बर बिसीको नाम सिफारिस गरिएको छ । उनीसँगै नेता बमबहादुर बिसी र नेतृ गौमती शाहीको नाम पनि अध्यक्षमा सिफारिस गरिएको छ ।

उपाध्यक्षको लागि बिमला शाही, निर्मला धमला न्यौपाने र शिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ । चौरपाटी गाउँपालिकाको अध्यक्षका लागि  एमाले चौरपाटीले जिल्ला कमिटी सचिवालय सदस्य रामबहादुर आउजीसहितका ६ नेताहरूको नाम सिफारिस गरेको छ ।एमाले पञ्चदेवल विनायक नगर कमिटीले पार्टीबाट नगरका उम्मेदवार छनोट गरेर जिल्ला कमिटी अछामलाई पठाएको जनाएको छ ।

मेयरमा  एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा तत्कालीन जिल्ला कमिटी अध्यक्ष नन्दबहादुर कडायत, प्रदेश कमिटी सदस्य कमल रावल र जिल्ला कमिटी सदस्य तथा नगर सहइन्चार्ज लक्ष्मी बोगटीको नाम सिफारिस गरिएको नगर कमिटी सचिव बखतबहादुर शाहीले जानकारी दिए । जिल्ला कमिटी सदस्य हस्तना चन्द, राधिका सञ्जाल र महिला नेतृ निर्मला बुढालाई उपमेयरका लागि सिफारिस गरेको छ ।

जिल्लाका १० वटा स्थानीय तहबाट नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको लागि नाम सिफारिस गरेर जिल्लामा आइसकेको र छलफलको माध्यमबाट टुंगो लगाउने प्रयास भइरहेको जिल्ला सचिव भीम रावलले जानकारी दिए । बाँकी उम्मेदवारको छनोटका लागि प्रदेशमा सिफारिस गर्ने तयारी भइरहेको र केही पालिकामा सर्वसम्मत सिफारिसका लागि नियमित बैठक जारी रहेका उनको भनाइ छ ।